शनिबार, मंसिर २१, २०७६
    पर्यटन समाचार

    सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै

    शुक्रबार, १७ श्रावन २०७६, आहाखबर

    चितवन, १६ साउन ।

    पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ ।

    रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ लगाउनुपर्ने, भवनहरुमा नेपाली शैली झल्कनुपर्ने, होटल रिसोर्टका लागि जमीनको न्यूनतम क्षेत्रफल तोकिनेछ । सौराहामा मात्र ११० होटल र ८० रेष्टुराँ छन् । सो क्षेत्रमा मानव बस्तीसमेत छ ।

    नीति बनाउनुअघि होटल र रेष्टुराँ व्यवसायीसँग नगरपालिकाले छलफल थालेको हो । वृहतरूपमा छलफल गरेर यसलाई अन्तिम रूप दिने वनको धारणा छ । नगरपालिका आफँैले मात्र नीति बनाउँदा कार्यान्वयनमा कठिनाइ हुने हुँदा निजी क्षेत्रको सहमतिमा नै काम गर्न लागिएको वनको भनाइ छ । सो क्षेत्रमा अग्ला भवन बनाउन अध्ययन गर्न आएकाहरुलाई आफूले अग्ला भवन बनाउन नपाउने मौखिक जानकारी दिन शुरु गरेको वनले बताउनुभयो ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव राममणि खनाल स्थानीय सरकारले नीति बनाएर काम अघि बढाउनुपर्ने बताउनुहुन्छ । प्रकृति सुहाउँदो रङ, वातावरणमा प्रभाव नहुने संरचना निर्माण गर्न सकेमा सौराहाको सुन्दरता अरु थपिने खनालको भनाइ छ । 

    नगरपालिकाले बनाउने मापदण्डमा व्यवसायी सहमत हुने भन्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्ले चिनेको सौराहालाई जीवन्त राख्न यो महत्वपूर्ण काम हुने बताउनुभयो । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले आफूहरुले चार वर्षअघि नै यसम्बन्धी प्रस्ताव गरेको भन्दै नगरपालिकाले यथाशीघ्र नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।  

    सौराहामा पछिल्लो समय कङ्क्रिटका ठूला भवन बन्न थालेका छन् । यस्ता कङ्क्रिटका भवनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता लोप हुने चिन्ता व्यवसायीमा रहेको छ । क्षेत्रीय होटल सङ्घले सौराहाको वृहत गुरुयोजनासमेत निर्माण गरिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast