बिहिवार, मंसिर २६, २०७६
    स्वास्थ्य

    निद्रामा घुर्ने समस्याले गराउँछ ‘प्यारालाइसिस’ देखि ‘हर्टयाट्याक’ सम्म

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १६ साउन

    के तपाईं सुतेको बेला सास रोकिएर उकुसमुकुस हुदै बारम्बार बिउझने गर्नुहुन्छ ?

    के तपाईंलाई निद्रामा घुर्ने समस्या छ ?

    के तपाईंलाई निद्रामा हात-खुट्टा धेरै चलाउने, छट्पटिने समस्या छ ?

    के तपाईंलाई दिउसो धेरै निद्रा लाग्ने गर्छ ?
     

    ‘यदि छ भने तपाईंलाई निद्रामा घुर्ने र सास रोकिने रोग ‘स्लिप एप्निया’ भएको हुन सक्छ।’

     

    के हो ‘स्लिप एप्निया‘ र कसरी हुन्छ?

    यो निद्रा सम्बन्धि एउटा रोग हो । साधारण घुराई र यो रोगका कारण हुने घुराईमा भिन्नता छ । साधारण घुराई मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई पनि हुन सक्छ तर यसमा ‘स्लीप एप्नियामा’ जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुदैन ।

    स्लीप एप्निया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वास-नली साँगुरो भई केहि बेरको लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । 

    यसको केहि समयपछि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ। यो बेला हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ।

    ‘घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर (क्वालिटी) एकदम कम हुन्छ। धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना रहदैन।

    बिरामीलाई भन्दा संगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ। यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हार्ट अट्याक) देखि लिएर दीर्घकालिन (शारीरिक तथा मानसिक) असरहरु हुन सक्ने भएकाले शंका लाग्ने बित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

     

    यसका असरहरु के हुन सक्छन् ?

    यो रोग हुनेहरुलाई ‘हर्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस , मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ। अत्यधिक घुराईको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ। अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ ।

     

    स्लिप एप्निया भए-नभएको कसरी पत्ता लगाउने ?

    यसका लागि तपाईंले निद्रा सम्बन्धि जांच गर्नु पर्ने हुन्छ । यसलाई पोलिसोम्नोग्राफी पनि भनिन्छ। यो जाच गर्नको लागि तपाईं एक रात यस अस्पतालको बेडमा भर्ना भई सुत्नुपर्नेछ । यो जांचले तपाईं निदाएको बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवं अन्य निद्रा सम्बन्धि रोगहरु भए-नभएको किटान गर्न सहयोग गर्नेछ ।

    तपाईं निदाएको बेला तपाइंको शरीरमा टासिएका तार वा सेन्सरहरुले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा भिडियोको माध्यमबाट निद्राका गतिविधिहरु परीक्षण गरिनेछ ।

    सेन्सरहरु टास्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुन सक्ने भवितव्य बाहेक यो जांचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हुदैन । 

    कहिलेकाही आवस्यकता हेरी तपाइंको घरमै गई तथा CPAP मेसिन जोडेर पनि यो जांच गर्नु पर्ने हुन सक्छ ।

     

    जांच गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

    १) सजिलो तथा खुकुलो लुगाहरु लाउनुपर्छ ।

    २) कपालमा कुनै किसिमको तेल, जेल, स्प्रे प्रयोग गर्नुहुन्न। दारी भएको अवस्थामा सेन्सरहरु टास्न गाह्हो हुने भएकाले यो टेस्टको लागि दारी काट्नुपपर्छ ।

     ३) निद्रा टेस्ट गर्ने दिन सके सम्म सुत्नु हुन्न। साथै कफी, चिया, कोक, रक्सी जस्ता पेय पदार्थ पिउनुहुन्न ।

    ४) सुगर, प्रेसर आदिको औषधी साबिक बमोजिम खान सक्नुहुन्छ ।

    ५) गफ होहल्ला नगरी, निदाउन सहज हुने बातावरण बनाउनुपर्छ। कुनै किसिमको मनोरंजनका साधनहरु मोबाइल, रेडियो, ल्यापटप आदिको प्रयोग गर्नुहुन्न् ।

     

    उपचारको बिधि 

    माथि उल्लेख गरिएको जस्तै तपाइँलाई स्लीप एप्निया लागेको रहेछ भने तपाइँ निदाएको बेला तपाइँको सासको नलीमा अवरोध आउने हुँदा यसबाट तपाइँको शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै यसले निद्राको गुणस्तरलाई समेत असर पार्दछ ।

    यो रोगको मुख्य उपचार भनेको सिप्याप प्रबिधिको प्रयोग गर्नु हो । सासको नली बन्द हुन नदिनका लागि तपाइँले राती नियमित रुपमा नाक वा मुख छोप्ने खालको ‘बिशेष मास्क’ प्रयोग गरी सुत्नुपर्ने हुन्छ । यो मास्क सिप्याप मेसिनसंग जोडिएको हुन्छ । यो मेसिनले मास्कको माध्यमबाट तपाइंको स्वास-नलीमा चाप पैदा गरी यसलाई बन्द हुन दिदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट जोगाउँछ । यसले तपाइंलाई गहिरो निद्रा लगाउन सहयोग गर्छ तथा रोगका कारण हुने अरु समस्याहरुबाट समेत बचाउँछ ।

    माथि उल्लेखित CPAP प्रविधिका साथसाथै तपाइँले अरु बिधिहरु पनि अपनाउनु भयो भने उपचार सहज हुन्छ । जस्तै वजन कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक-कान-घांटीको समस्याहरुको उपचार गर्ने, जाड-रक्सी जस्ता अन्य निद्राको औषधी प्रयोग नगर्ने, आदि ।

    साधारण स्लीप एप्निया हुनेहरुलाई मुखमा लगाउने यन्त्रहरु तथा कहिलेकाहीं घाटीको शल्यक्रियाले पनि फाइदा हुन सक्ने हुन्छ । निन्द्राको जांच गरिसकेपछि रोगको अवस्था हेरी तपाईलाई डाक्टरले यी विकल्पहरुको बारेमा उचित परामर्श दिनुहुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast