आईतवार, भाद्र १, २०७६
    विज्ञान/प्रविधि

    स्ट्राटेजिक एनालिटिक्स रिपोर्ट : यी हुन् विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १६ साउन 

    सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ । विश्व स्मार्टफोन बजारको गिरावटका बाबजुत सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्साको मामिलामा वृद्धिदर हासिल गर्न सफल भएका छन् ।

    स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ जबकि सामसुङका स्मार्टफोनको बिक्रीमा भने १.९ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्को कम्पनी हुवावेका स्मार्टफोनको बिक्रीमा चाहिँ १ दशमलब ७ प्रतिशतको वृद्धिदर हासिल भएको छ ।

    एप्पल कम्पनीले भने यो त्रैमासिकमा गिरावटको सामना गर्नुपरेको छ । सन् २०१९ को दोस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रीमा शून्य दशमलव ७ प्रतिशतको गिरावट देखिएको छ ।

    संख्याका हिसाबले उक्त तीन महिनामा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको हुवावेका ५ करोड ८७ लाख थान स्मार्टफोन बिक्री भएका छन् भने तेस्रो स्थानमा रहेको एप्पलका ३ करोड ८० लाख थान मात्र आइफोन बिकेका छन् ।

    बिक्री तथा मार्केट शेयरको दृष्टिले ९.४ प्रतिशत बजार हिस्सा रहेको शाओमी चौथो स्थानमा र ८.७ प्रतिशत हिस्सा रहेको ओप्पो पाँचौं नम्बरमा रहेको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यी दुवै कम्पनीको वृद्धिदरमा सामान्य मात्रै बढोत्तरी देखिएको छ ।

    काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा रहेको सामसुङको बजार हिस्सा २१ दशमलब ६ प्रतिशत रहेको छ । 

    दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्स १५ दशमलव ८ प्रतिशत रहेको छ भने तेस्रो स्थानको एप्पलको १० दशमलव १ प्रतिशत रहेको छ । त्यस्तै चौथो स्थानमा शाओमी छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ओप्पोको ८.१ प्रतिशत, भिभोको ७.५ प्रतिशत, लेनोभोको २.६ प्रतिशत, एलजीको २.२ प्रतिशत तथा नोकियाको स्वामित्व रहेको एचएमडीको बजार हिस्सा १.३ प्रतिशत रहेको छ । 

    त्यस्तै रियलमीको बजार हिस्सा १.३ प्रतिशत रहेको छ भने अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले बाँकी २०.८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast