शनिबार, भाद्र ७, २०७६
    खेल संसार

    अझै छ नेपालको विश्वकप पुग्ने सम्भावना !

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, साउन १६ ।

    नेपालले विश्वकप पुग्न अझै एक अवसर पाउँछ वा पाउँदैन भन्ने आइसीसीको निर्णयमा भर पर्नेछ । आइसीसीले गर्ने निर्णयले नेपालले अझै एकपटक अवसर पाउन सक्ने सम्भावना पनि छ ।  

    गत आइतबार भएको आइसीसी विश्वकप छनोटको एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल विश्वकपको ग्लोबल छनोट खेल्नबाट बञ्चित भएको छ । यससँगै नेपाली खेलाडी र फ्यानहरु निराश भएका छन् । 

    यद्यपि यो पराजयपछि पनि नेपालको विश्वकप पुग्ने झिनो सम्भावना भने बाँकी छ ।  

    आइसीसी विश्वकपको ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि युएइमा हुँदैछ । यो प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने तय गरिएको छ । यहाँ खेल्ने १४ टिममध्ये अघिल्लो विश्वकप खेलेका र आइसीसीको बरियतामा ११ देखि १६ औं स्थानसम्म रहेका ६ टोली सोझै छनोट भएका थिए । आइसीसीको बरियतामा शीर्ष १० टोली भने सोझै विश्वकपका लागि छनोट भइसकेका छन् । 

    ग्लोबल क्वालिफायरमा १४ टोली पुगे पनि एउटा टोलीले खेल्न पाउने सम्भावना अत्यन्तै न्यून छ । जिम्बाब्बेलाई आइसीसीले प्रतिबन्ध लगाएको छ र प्रतिबन्ध फुकुवा नहुँदासम्म उसले आइसीसीका कुनै प्रतियोगितामा भाग लिन पाउने छैन । 

    ग्लोबल छनोटमा १३ टोली हुने अवस्थामा आइसीसीले थप एक टोलीलाई १४ औं टोलीको रुपमा अवसर दिन सक्छ । यसको लागि आइसीसीले २ विकल्पमध्ये कुनै एक विकल्प रोज्न सक्छ । आइसीसीको लागि पहिलो विकल्प हो क्षेत्रीय छनोटको उपविजेतालाई अवसर दिने । तर, यो प्रक्रिया झन्झटिलो हुनेछ । किनकि क्षेत्रीय छनोट ५ क्षेत्रमा भएको छ र ५ उपविजेता छन् । यीमध्ये एक टिम छान्न यी ५ टोलीबीच पुनः प्रतिस्पर्धा गराएर विजेता छान्नुपर्ने हुन्छ जुन झन्झटिलो हुनेछ । 

    दोस्रो विकल्प हो आइसीसीको बरियतामा माथि रहेको टोलीलाई अवसर दिने । यस्तोमा सबैभन्दा माथि रहेको टोली नेपाल हुनेछ । आइसीसीको अहिलेको बरियताअनुसार शीर्ष १० स्थानमा रहेका सबै टोली सोझै विश्वकपमा छनोट भइसकेका छन् । ११ औं स्थानमा नेपाल छ । विश्वकपको ग्लोबल छनोट खेल्ने सबै टोली आइसीसीको बरियतामा नेपालभन्दा पछाडि छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast