बिहिवार, मंसिर २६, २०७६
    स्वास्थ्य

    स्तनपान सप्ताह सुरु, ­ आमा र शिशु दुवैलाई फाइदा

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १६ साउन  ।

    शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ ।  अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उहाँले बताउनुुभयो । 
    चिकित्सक लामिछाने भन्नुहुन्छ, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान गर्न नदिएपछि दूध गानिएर स्तनको शल्यक्रियासमेत गर्नु परेको नमीठो अनुभव उहाँको छ । 

     

    महिलाले बाध्यताले स्तनपान गराउन नपाएका यस्ता उदाहरण धेरै छन् । स्तनपानमैत्री कार्यालय नहुनु, फेसनमा बोतलबाट दूधपान (बोतल फिडिङ) गराउनु तथा उचित परामर्शको अभावमा आमाहरूले स्तनपान कम गराउने गरेको उहाँको अनुभव छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आरपी विच्छाले विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको सङ्ख्या दिनप्रतिदिन घटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्तनपानबारे दुईवटा कुरा थाहा पाउनैपर्छ । पहिलो, जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्छ भने दोस्रो, छ महिनासम्म दूध मात्र खुवाउनुपर्छ । तर दुर्भाग्यवश यो दुवै घट्दो अवस्थामा रहेको समाचार गोरखापत्रमा छ । 

    तथ्याङ्कअनुसार सन् २०१० मा ७१ प्रतिशत आमाले स्तनपान गराउँथे भने हाल ६० प्रतिशतमा झरेको डा. विच्छाले जानकारी दिनुभयो । उहाँले यो सबै स्तनपान गराउनुपर्छ भनेर दिइने परामर्शको अभाव तथा बजारमा पाइने विभिन्न प्रकारको खाद्य पदार्थका कारणले कमी भएको प्रस्ट पार्नुभयो । “आमाहरू शिक्षित त भएका छन् तर स्तनपानको विषयमा भने अशिक्षित आमाजति पनि जिम्मेवारी पूरा गर्न सकेका छैनन्”, उहाँले थप्नुभयो, “विद्यालयको पाठ्यक्रममै स्तनपानको महŒवबारे पढाइनुपर्छ । ” 
     

    परामर्श पुगेन 
    डा. विच्छाले शल्यक्रियाबाट जन्म हुने शिशुको सङ्ख्या वृद्धिका कारण पनि स्तनपान गराउनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । हाल ६३ प्रतिशतले शल्यक्रिया गरेको तथ्याङ्क छ । अस्पतालका चिकित्सकले शल्यक्रिया गरे पनि स्तनपान गराउनुपर्छ भन्ने परामर्श नदिएका कारण पनि स्तनपान घटेको उहाँले बताउनुभयो । 

     

    “शिशु जन्मिसकेपछि उसलाई पुग्ने दूध आमासँग भएकै हुन्छ”, उहाँले दाबी गर्दै थप्नुभयो, “शिशुले जति बढी आमाको दूध तान्यो, त्यति नै बढी आउँछ । शल्यक्रिया गरिसकेपछि पहिलो पटक नआउला तर दोस्रो र तेस्रो पटक तान्न लगायो भने बच्चालाई पुग्ने दूध आउँछ । त्यसैले स्तनपान गराउने तरिका र फाइदाबारे अस्पतालका नर्स वा डाक्टरले नै सिकाउनुपर्छ । ” 
     

    बैङ्कमा कार्यरत श्रेया श्रेष्ठले छोरालाई डेढ वर्षसम्म स्तनपान गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकको सल्लाहबाटै डेढदेखि दुई वर्षसम्म बच्चाको विकासका लागि स्तनपान गराउनुपर्छ भनेकाले डेढ वर्षको हुँदा छोरालाई स्तनपान गराउन छोडेकी हुँ । ’’ “बिहान स्तनपान गराएर, बोटलमा दूध निकालेर जान्थेँ । त्यसपछि कार्यालयबाट घर पुगेपछि खुवाउँथेँ”, उहाँले भन्नुभयो । 
     

    बाल विशेषज्ञ डा. जुनसिंह डङ्गोल भन्नुहुन्छ, “छ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनुपर्छ । छ महिनापछि भने अन्य पौष्टिक खाना पनि खुवाउन थालिन्छ । ” जब शिशु डेढ वर्षको हुन्छ, तब उसको शारीरिक तथा मानसिक विकासका लागि थुप्रै पौष्टिक तŒवको खाँचो पर्छ । यही कारण शिशु डेढदुई वर्षको भएपछि आमाको दूध छुटाउन र अन्य ठोस पौष्टिक आहारा खुवाउनुपर्छ । 
     

    रोगसँग लड्ने क्षमता 
    आमाको दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षात्मक तŒव हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ । स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने पनि उहाँले जानकारी दिनुभयो । आमाको दूधमा पाइने कोलस्ट्रम 

     

    (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला, निमोनिया जस्ता घातक सङ्क्रमणबाट बचाउन सकिने भएकाले पनि दुई वर्षसम्म अनिवार्य स्तनपान गराउनुपर्ने बालविशेषज्ञ डा. प्रज्ञा प्रधानको सुझाव छ । 
     

    आमा बच्चा झनै सुन्दर
    कतिपय मानिसले स्तनपान गराउँदा आफ्नो सौन्दर्यमा ह्रास आउने, स्तनको आकार बिग्रने, शरीरको तौल घटबढ हुनेजस्ता धारणाले गर्दा स्तनपान नगराउने गरेको पाइन्छ । डा. प्रधानका अनुसार विज्ञानले यो कुरा गलत भन्छ । बरु यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको छ । स्तनपानले आमा र बच्चाको सौन्दर्य अझ सुन्दर हुन्छ । 
    आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ । यस्ता कुरालाई ध्यानमा राखेर चीनले शिशुहरूलाई बट्टाको दूध सेवन गराउन कानुनी रूपमै रोक लगाएको छ । 

     

    यौनिकतासँग जोड्नु गलत
    स्तनपानलाई यौनिकतासँग जोडेर हेर्ने गलत दृष्टिकोणबाट महिलाहरू पीडित हुँदै आएको स्टाफ नर्स अनिता प्रजापतिको गुनासो छ । उहाँले भन्नुभयो, “यही गलत धारणा बदल्न सकेमा मात्रै स्तनपान दिवसको सार्थकता हुने छ । ” आमा बन्नु संसारकै सबैभन्दा उत्कृष्ट अनुभूति हो । कहीँ कतै शिशुलाई स्तनपान गराउन परेमा अरूले टुुलुटुलु हेर्न बानी भने धेरै नराम्रो हो । 

     

    स्तनपान गराउनुका लाभ 
    डा. डङ्गोलका अनुसार स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ । नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन बनेको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन । गर्भावस्थामा तपाइँंको बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्छ । ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ । स्तन, गर्भाशय क्यान्सरको सम्भावना पनि कम हुन्छ । बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ । स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ । 

     

    दूध खुवाउने तरिका 
    डा. प्रधानका अनुसार हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनुपर्छ । प्रत्येक स्तनबाट १० देखि १५ मिनेट दूध खुवाउनुपर्छ । जति स्तनपान गरायो, त्यति नै धेरै स्तनबाट दूध उत्पादन गर्न प्रोत्साहित हुन्छ । स्तनपान समयमा गराए कुनै पनि बच्चा झगडालु र उद्दण्ड हुँदैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast