बुधबार, भाद्र ४, २०७६
    पर्यटन समाचार

    बाघ दिवस : दोब्बर सङ्ख्या पु¥याउने लक्ष्य नजिक

    सोमबार, १३ श्रावन २०७६, भीष्मराज ओझा, रासस.
     काठमाडौँ, १३ साउन ।      
     वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । 
     
    सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो । 
     
      पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।  
     
     सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
     
     मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । 
     
     विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ । 
     
    सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ । 
     
    नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ । 
      मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पु¥याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast