मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    नेपालविरुद्ध ७७ रन बनाएका सिंगापुरका डेभिड को हुन् ?

    आईतवार, १२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १२ साउन ।

    सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । 

    सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो ।

    घरेलु टोली सिंगापुर अप्रत्यासित प्रदर्शन गर्दै टी-ट्वेन्टी विश्वकप क्रिकेटको विश्वस्तरको छनोटमा पुगेको छ । राउन्ड रोबिनको अन्तिम तथा निर्णायक खेलमा आइतबार दाबेदार मानिएको नेपालविरुद्ध ८२ रनको जित हात पार्दै‌ सिंगापुर १४ टोली सहभागी हुने विश्वस्तरको छनोटमा पुगेको हो ।

    पहिला ब्याटिङ गरेको सि‌ंगापुरले एक सय ९२ रनको लक्ष्य प्रस्तुत गर्नु नै नेपालका लागि अनपेक्षित थियो । नेपालका होनाहार बलरलाई निराश बनाउने सिंगापुरका ब्याट्सम्यान थिए टिम डेभिड । यो खेलमा उनले एक सय ७९ रनको स्ट्राइक रेटमा ७७ रन बनाए । डेभिडको पालीमा तीन छक्का र ८ चौका सामेल रह्यो ।

    २३ वर्षीय डेभिडले अस्ट्रेलियाको उमेरस्तरको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले अस्ट्रेलियाको यू-२३ राष्ट्रिय प्रतियोगितामा वेस्टर्न अस्ट्रेलियाबाट खेलेका थिए ।

    उनले अस्ट्रेलियन युनिभर्सिटिज, पर्थ स्कर्चर्स, वेस्टर्न अस्ट्रेलिया-११ बाट खेलिसकेका छन् । सन् २०१९ देखि डेभिडले सिंगापुरका लागि खेल्न थालेका हुन् । अघिल्लो वर्षसम्म उनले अस्ट्रेलियाको घरेलु प्रतियोगिता खेलेका थिए ।

    नेपालको खेल :

    नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो ।

    त्यस्तै नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे । 

    नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast