बुधबार, कार्तिक ६, २०७६
    प्रेरक प्रसँग

    एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

    आईतवार, १२ श्रावन २०७६, आहाखबर

    ओखलढुङ्गा, १२ साउन । 
    ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

    साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको उहाँको भनाइ छ । “अधिकांश एकल महिलाको समाजमा बिजोग भएको स्थिति देखेको छु”, अध्यक्ष अधिकारीले भन्नुभयो, “वर्षमा पाँच हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ ।

    एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ ।” अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    एकल महिला खुशी 

    उपचार खर्च दिने गाउँपालिकाको नीतिले सुनकोशीका एकल महिला खुशी भएका छन् । गाउँघरमा एकल महिलालाई हेर्ने दृष्टिकोण राम्रो नभएको अवस्थामा स्थानीय सरकारको यो कदम स्वागतयोग्य रहेको बलखुकी ३२ वर्षीया अरुणा राईले बताउनुभयो । “भोट माग्न आउँदा तपाईंहरुका लागि पनि केही गर्छौैं, भन्थे नेताहरुले राम्रो कामको शुरुआत गरेकामा हामी खुसी छौँ”, राईले भन्नुभयो । सामान्य रोग लाग्दा पनि खर्च अभावका कारण घरैमा बस्नुपर्ने बाध्यता हट्ने उहाँको बुझाइ छ । 

    एकल महिलाका क्षेत्रमा क्रियाशील स्थानीय अगुवा मुना श्रेष्ठले स्थानीय सरकारको यो नीतिले एकल महिलालाई समाजमा स्थापित गराउन मद्दत पुग्ने बताउनुभयो  । 
     

    एकल महिलालाई उपचार खर्च दिने नीति लिएसँगै वडामार्फत एकल महिलाको तथ्याङ्क र अवस्थाका बारेमा विवरण सङ्कलनको काम थालिएको सुनकोशी गाउँपालिकाको कार्यालय मूलखर्कले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast