शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    गीतकार अमर बान्तुको ‘अमर भावना २’ विमोचन

    शनिबार, ११ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ११ साउन

    गीतकार अमर बान्तुको श्रव्यदृश्यसहितको गीति एल्बम ‘अमर भावना २’ को आज राजधानीमा विमोचन गरिएको छ ।

    पूर्वअर्थमन्त्री तथा गीतकार शङ्करप्रसाद (एसपी) कोइराला र सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटलगायतले उक्त एल्बमको विमोचन गर्नुभएको थियो । उहाँको गीतमा साहिमा श्रेष्ठको स्वर तथा दीपक शर्मा र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । एल्बममा कलाकार आँचल शर्मा, अनुपविक्रम शाही र शाहिमा श्रेष्ठको अभिनय रहेको छ ।

    उक्त समारोहमा बोल्दै गीतकार कोइरालाले उहाँ प्रतिभाका धनी भएको उल्लेख गर्दै कविता लेखनमासमेत सम्भावना भएको व्यक्तिको रुपमा चर्चा गर्नुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले उहाँका गीत उकालीओराली र सुखदुःखलाई समेट्दै हाँसेर बाँचाँै भन्ने सन्देश दिने खालको रहेको स्मरण गर्नुभयो । 

    गीतकार सङ्घका अध्यक्ष चुडामणि देवकोटाले गीत प्राचीन विधा भएकाले जन्मदेखि मृत्युसम्मका विषयवस्तु समेटिने उल्लेख गर्दै गीतले मौलिकतालाई जोगाउन सहयोग गर्ने बताउनुभयो । उक्त एल्बममा ‘हरहर महादेव’ बोलको तीज गीत र ‘तिम्रो शहर’ बोलको अर्काे गीत समेटिएको छ । 

    गीतकार बान्तुले समाजमा एउटा कैँची जस्तो र अर्काे सियोजस्तो प्रवृत्ति हुने उल्लेख गर्दै अहिलेको गीत सियोजस्तै समाजलाई जोड्नका लागि लेखेको बताउनुभयो । कलाकार दिपाश्री निरौलाले उहाँका गीतहरु श्रृङ्गाररसले भरिएकोे बताउनुभयो ।

    बान्तुले ‘परिभाषाका राँटाहरु’ नामक कविता सङ्ग्रह र ‘अमर भावना’ गीति एल्बम निकालिसक्नुभएको छ । भोजपुरमा जन्मनुभएका बान्तुले यसअघि गीतकार सङ्घलाई रु १५ लाख सहयोगसमेत गर्नु भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast