आईतवार, मंसिर २२, २०७६
    कृषि-उर्जा

    तनहुँ जिल्लाका हजार घरधुरीमा बिजुली विस्तार !

    शुक्रबार, १० श्रावन २०७६, आहाखबर

    दमौली, १० असार

    तनहुँ जिल्लास्थित विभिन्न ठाउँका एक हजार घरधुरीमा बिजुली विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष ०७५÷७६ मा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको हो ।

    आँबुखैरेनी गाउँपालिका–६ को ज्यामिरे छापस्वारा, ढेडगाउँको ११०, बन्दीपुर ग्याजाटारको ११५, साराङघाटको ११०, रिसिङ गाउँपालिका–३ नाजुङको १२०, दुभुङको १२०, खाल्टुभञ्ज्याङको १३०, रिसिङ गाउँपालिका–२ गुम्लेकको ६० र व्यास नगरपालिका–१३ सुढेपुलको १५ घरधुरीमा बिजुली विस्तार गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । 

    उक्त अवधिमा ७६.७ किमि विद्युत् प्रसारणलाइन विस्तार भएको छ । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमिलाइन विस्तार गरिएको छ । गोशलीका अनुसार बिजुली विस्तारका लागि रु तीन करोड बजेट खर्च भएको छ । 

    उक्त अवधिमा एक हजार घरधुरीमा बिजुली विस्तार भएपछि जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । बाँकी १५ प्रतिशत घरधुरीमा अबको डेढ वर्षभित्र बिजुली विस्तार गर्ने योजना रहेको गोशलीले बताउनुभयो । गोशलीका अनुसार देवघाट, रिसिङ, बन्दीपुर र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुग्न सकेको छैन ।

    विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्मलाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइनेछ ।  

    त्यसैगरि बुद्धसिं फिडरमार्फत् आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायत बुद्धसिं मार्ग छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिनुभयो । 

    कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको छ । म्याग्देको मुलावारी, ओटाङ्दी, व्यासको सुँढे, बागभञ्ज्याङ, सितलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप भएको छ ।

    दुई हजार १०७ ग्राहक थपिए

    वितरण केन्द्रमा आर्थिक वर्ष ०७५÷७६ मा दुई हजार १०७ नयाँ ग्राहक थपिएका छन् । थपिएका ग्राहकमध्ये एक हजार घरधुरी बिजुली विस्तार भएका घरधुरी हुन् । बाँकी भने बजार क्षेत्रमा नयाँ घर बनेर विद्युतीकरण भएका घरधुरी हुनु् । वितरण केन्द्रमा हाल ३६ हजार २२३ ग्राहक छन् । गत आर्थिक वर्ष ०७४÷७५ मा जिल्लामा ३४ हजार ११६ ग्राहक थिए ।

    केन्द्रले तीन करोड ६१ लाख १९ हजार ३४२ युनिट विद्युत् बिक्री गरेर रु ३८ करोड ४४ लाख १० हजार ९३१ रकम सङ्कलन गरेको छ । गत वर्ष केन्द्रले तीन करोड ४१ लाख ९५ हजार २०६ युनिट विद्युत् बिक्री गरेर रु ३३ करोड २९ लाख ८१ हजार ८८८ सङ्कलन गरेको थियो ।

    कार्यालयले सोही अवधिमा बक्यौताबापत रु एक करोड ४२ लाख ७४ हजार २८६ असुली गरेको छ । त्यस्तै ९३१ ग्राहकको लाइन काटेर उक्त बक्यौता असूल गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा ३३७ ग्राहकको लाइन काटेर रु ६१ लाख ७५ हजार ७५३ असूली भएको थियो । सोही अवधिमा १२५ ग्राहकलाई विद्युत् चोरी गरेबापत कारवाही गर्दा रु ६ लाख ६ हजार ६५ सङ्कलन भएको केन्द्रले जनाएको छ । 

    गत आर्थिक वर्षमा २५ जनालाई कारवाही गर्दा रु एक लाख ४५ हजार ४७२ सङ्कलन भएको थियो । 

    फरार प्रतिवादी पक्राउ

    ज्यान मार्ने उद्योगमा तनहँु जिल्ला अदालतबाट कैद तोकिएर फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ डहरे बस्ने ५७ वर्षीय बेलबहादुर कुमाल रहेका छन् ।

    फरार सूचीमा रहेका कुमाललाई खोजतलास गर्ने क्रममा उनकै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

     कुमाललाई आज नै तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशमा निजलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

    विसं २०७२ भदौ २४ गते शुक्लागण्डकी नगरपालिका–८ डहरेका ३७ वर्षीय हर्षबहादुर कुमाललाई ज्यान मार्ने मनसायले धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा तनहुँ जिल्ला अदालतले विसं २०७२ असोज १५ गते पाँच वर्षको कैद सजाय सुनाएपछि निज पूर्पक्षका लागि थुनामा गएका थिए । 

    पुनरावेदन गरी कारागारबाट छुटेका कुमाललाई तनहँु जिल्ला अदालतबाट विसं २०७३ असार १९ गते फैसला हुँदा पाँच वर्ष कैद सजाय तोकिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast