बुधबार, भाद्र ४, २०७६
    बैंक-बीमा

    पहिलाे पटक नेपालका ५ बैंकलाई ‘एशिया मनि अवार्ड’

    शुक्रबार, १० श्रावन २०७६, आहाखबर
    काठमाडौं, १० साउन ।
     
    युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ले हरेक वर्ष प्रदान गर्ने ‘एशिया मनि अवार्ड’बाट यसपाली नेपालका ५ वाणिज्य बैंकहरु पुरस्कृत भएका छन् ।  १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ५ वटा वाणिज्य बैंकहरुले अवार्ड जितेका हुन् ।
     
    विश्वभरका करिब २ हजार बैंक यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलोचोटी समेटिएको हो । यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ ।
     
    नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविलले बेस्ट डिजिटल बैंक अवार्डसमेत प्राप्त गरेको बैंकका सीईओ अनिलकेशरी साहले जानकारी दिए । अबार्ड बितरण समारोहमा भने नेपालका बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको थिएन ।
     
    मेगा बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो ।
     
    यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ‘बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ । यो बैंकलाई सामाजिक उत्तरदायित्व राम्रोसँग निभाएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
     
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast