विराटनगर, ९ साउन
किसानलाई आवश्यक पर्ने रासायनिक मल डिएपीको अभाव नरहेको साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय विराटनगरले जनाएको छ ।
केही दिन पहिले मलको अभाव देखिएपनि अहिले रासायनिक मलको अभाव नरहेको र दैनिक चार हजारदेखि पाँच हजार रासायनिक मल डिएपी जोगबनी सीमाबाट नेपाल भित्रि रहेको साल्ट ट्रेडिङका निमित्त कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कार्यालयमा यस वर्ष एक लाख बोरा डिएपी मल आउनुपर्ने तालिकाअनुसार ४६ हजार बोरा आइसकेको छ भने बाँकी मल यसै महीनाभित्रमा आइसक्ने प्रमुख न्यौपानेले बताउनुभयो । उहाँले किसानलाई आवश्यक पर्ने उक्त मल कृषि सहकारी संस्थामार्फत उपलब्ध गराई रहेको बताउनुभयो । कार्यालयमा अहिले दुई हजार ३०० मेट्रिक टन युरिया मौज्दात छ ।
यसैगरी, कृषि सामग्री संस्थान कार्यालय विराटनगरमा आगामी १० दिन भित्रमा सात हजार ५०० मेट्रिकटन अर्थात् एक लाख ५० हजार बोरा रासायनिक मल डिएपी आउने भएको छ ।
संस्थानमा युरिया चार हजार ६१ मेट्रिकटन अर्थात् ८१ हजार २२० बोरा, पोटास तीन हजार २८० बोरा मौज्दात छ । केही दिनपछि दुई लाख बोरा युरिया आउने संस्थानका सूचना अधिकारी नवरत्न सुवेदीले जानकारी दिनुभयो ।
देशभरमा सात लाख मेट्रिक टन रासायनिक मल डिएपी आवश्यक रहेको बताइएको छ । यसैगरी, खुला सीमानाका कारण किसानले आफैले पनि कालो बजारीमार्फत रासायनिक मल डिएपी र युरिया खरीद गरी खेतमा प्रयोग गर्ने गरेका छन् ।
प्रदेश नं १ मा तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धान खेती हुन्छ भने लगभग यसको एक चौथाइ जग्गामा गहुँ खेती हुने गरेको छ ।
यस क्षेत्रमा किसानले मकै, दलहन, तेलहन बाली लगाउनुका साथै प्रशस्त रुपमा तरकारी खेती गर्ने गरेकाले रासायनिक मल डिएपी र युरिया आवश्यक परिरहने भएकाले यसको नियमित आपूर्ति व्यवस्था मिलाउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com