आईतवार, मंसिर २२, २०७६
    राज्य-समाज

    पार्टी एकता बिथोल्न प्रधानमन्त्रीको अफर आएपनि लोभ गरिएन : प्रचण्ड

    मंगलवार, ७ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ७ साउन । 

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन् ।

    नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै दाहालले कहिले कसैलाई कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताएका हुन् । तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको उनको भनाई छ ।

    ‘पार्टी एकता हुन नदिन प्रतिक्रियावादीका तर्फबाट प्रधानमन्त्रीको अफर गर्ने कोशिस नभएका होइनन् तर हामीले कुनै लोभ लालच, प्रलोभन र धम्कीसँग नझुकेर पार्टी एकता गर्यौँ, यसलाई बचाउने जिम्मेबारी अब तपाई हाम्रो काँधमा आएको छ’, प्रचण्डले भने, ‘इतिहासले हामीलाई ठूलो जिम्मेबारी दिएको छ ।

    उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरि दिएको बताए । ‘उमेद्बार छान्नमै यीनीहरुको झगडा पर्छ र सकिन्छन् भनियो, त्यसपछि कम्युनिष्टले जिते अधिनायकवादी हुन्छन् भनेर पनि प्रचार गरियो तर यी सब कुराहरुलाई पार लगाउँदै हामीले असाधारण विजय गर्यौँ’, प्रचण्डले भने, ‘त्यसपछि पनि पार्टी एकता टिक्दैन भनेर प्रचार नभएका होइनन्।’

    प्रचण्डले आफूभित्रका कमि कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने बताएका छन् । उनले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताउँदै पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी अब लागिपर्ने जनाए ।

    नाटकीय ढंगबाट पार्टी एकता भएको नभइ यो ठूलो राजनीतिक प्रक्रियापछि मात्रै याे सम्भव भएको उनकाे भनाइ छ । जनयुद्धका बेला कम्युनिष्ट नेताहरुबीच भएका वार्ता र संवादका कुराहरु अहिले पनि धेरैलाई थाहा नभएकाे उनले बताए । उनले भने, 'माधव नेपाल यहिँ हुनुहन्छ, उहाँ र मबीच हामी भूमिगत अवस्थामै रहेका बेला पटक-पटक कम्युनिष्ट एकताका बारेमा छलफल भएको विषय बाहिर आएकै छैन तर, नेताहरुबीच आलोचना, विरोध र निषेध भएका कुरा मात्रै बाहिर चर्चामा आएका छन् ।

    अध्यक्ष प्रचण्डले १२ बुँदे सहमति, १९ दिने जनआन्दोलन, शान्ति सम्झौता जस्ता ठूला राजनीतिक परिघटनाहरु पनि कम्युनिष्ट पार्टी एकतासँग जोडिएको प्रष्ट पारे । उनले भने, अहिले फ्याट पार्टी एकता भएको होइन, यसमा धैरै प्रक्रिया रह्यो ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast