सोमबार, भाद्र २, २०७६
    खेल संसार

    आईसीसी टि-२० विश्वकप छनौट : कतारविरुद्धको खेलमा नेपालका ४ खेलाडी पुरानै

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ६ साउन

    आईसीसी टि-२० विश्वकप छनौट (एसिया फाइनल) प्रतियोगितामा नेपालले मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दैछ।

    सिंगापुरमा भइरहेको प्रतियोगितामा कतारले मंगलबार दोस्रो खेल खेल्दा नेपालका लागि पहिलो खेल हुनेछ। सोमबार भएको उद्‌घाटन खेलमा कतारलाई आयोजक सिंगापुरले ३३ रनले पराजित गरेको थियो।

    उपाधि जितेर विश्व छनोटमा पुग्नका लागि नेपाललाई कतारविरुद्धको पहिलो खेल महत्वपूर्ण छ।

    मंगलबारको खेलमा नेपालको ओपनिङमा कप्तान पारस खड्का आउने प्रवल सम्भावना छ।

    उनले अघिल्लो साता मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि ओपनिङ गरेका थिए। पारसले पहिलो खेलमा नटआउट ८६ रन जोडेका थिए। यो स्कोर नेपालका लागि टी-२० खेलमा अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर हो। दोस्रो खेलमा भने पारस २३ रनमा आउट भएका थिए।

    ओपनिङमा पारसलाई प्रदीप ऐरी वा पवन सर्राफ मध्ये एकले साथ दिन सक्छन्। पारसलाई मलेसियाविरुद्धको पहिलो खेलमा प्रदीपले साथ दिएका थिए। तर उनी ८ रनमा आउट भए। दोस्रो खेलमा पारससँगै ओपनिङमा आएका पवन सर्राफ १० रनमा आउट भएका थिए।

    तेस्रो नम्बरमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउनेछन्।

    नेपाललाई मध्यक्रममा विकल्प छ। दीपेन्द्रसिंह ऐरी चोटबाट फर्कने अपेक्षा गरिएको छ। यस्तै अनुभवी शरद भेषवाकर र रोहितकुमार पौडेल मध्यक्रमका राम्रा ब्याट्सम्यान हुन्। मध्यक्रममा रोहित, शरद र दीपेन्द्र मध्ये २ जनाले टिममा स्थान पाउने अवस्था छ।

    विनोद भण्डारी टिमका निर्विकल्प विकेटकिपर ब्याट्सम्यान हुन्।

    तीव्र गतिको बलिङमा सोमपाल कामी र करण केसी टिममा पर्नेछन्। ब्याटिङ गर्न सक्नु दुवैको बलियो पक्ष हो। तीन जना तीव्र गतिको बलर खेलाएको अवस्थामा अभिनास बोहराले पनि मौका पाउन सक्छन्।

    स्पिनरको रुपमा सन्दीप लामिछानेको स्थान सुरक्षित छ। पछिल्लो समय फिटनेटसमा समस्या देखिएका अनुभवी बलर बसन्त रेग्मीको स्थान ललितनारायण राजवंशीले लिन सक्छन्। २ जना मात्र तीव्र गतिका बलर खेलाउदा तीन जना स्पिनरले टिममा स्थान बनाउने सक्छन्।

    पहिलो खेलमा कतारका ब्याट्सम्यानले बाउन्ड्री बढी ध्यान दिएको देखिन्छ। सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारका ब्याट्सम्यानले कुल ७ छक्का र १४ चौका प्रहार गरेका थिए। त्यसैले नेपालले कतारलाई बाउन्ड्रीमा रोक्नु पर्ने देखिन्छ।

    अर्कोतर्फ कतार जारी प्रतियोगितामा भाग लिएका टिम मध्ये दोस्रो उच्च वरीयताको टिम हो। २१औं स्थानको कतारका कप्तान तमूर सज्जादले अलराउन्ड प्रदर्शन गर्न सक्छन। सोमबार उनले सिंगापुरविरुद्ध २९ बलमा २ चौका र २ छक्का हिर्काएर ३४ रन जोडेका थिए।

    नेपालले कतारसँग टी-२० को खेलमा १० वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक सन् २००९ को एसिसी टी–२० कपमा नेपाल र कतारबीच खेल भएको थियो। समूह चरणको खेलमा नेपाल ६ विकेटकले विजयी भएको थियो।

    पहिले ब्याटिङ गरेको कतार ९६ रनमा अलआउट हुँदा नेपालले ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। त्यतिबेला पनि पारस खड्काले नै नेपाली टिमको कप्तानी गरेका थिए। त्यतिबेला खेलेका ४ खेलाडी अहिले पनि नेपाली टिममा छन्। पारससहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र विनोद भण्डारीले दश वर्षअघि पनि कतारविरुद्ध खेलेका थिए।

    १० वर्षअघि नेपालविरुद्ध खेलका अलराउन्डर तमूर साज्जद अहिले कतारको कप्तान छन्।

    सन् २००७ मा पनि नेपालले कतारसँग खेलेको थियो। एसिसी टी–२० कपको खेलमा नेपाललाई कतारले ३ विकेटले पराजित गरेको थियो। १२ वर्षअघिको सो खेलमा अहिले टिममा रहेका शरद भेषवाकर, पारस खड्का र बसन्त रेग्मीले खेलेका थिए।

     

    नेपाली टिम 

    पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

     

    नेपालको खेल

    कतारविरूद्ध - साउन ७ गते 
    मलेसियाविरूद्ध – साउन ८ गते 
    कुवेतविरूद्ध – साउन ११ गते 
    सिंगापुरविरूद्ध – साउन १२ गते

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast