सोमबार, भाद्र २, २०७६
    राज्य-समाज

    ‘नेपाल र जर्जिया सम्बन्ध सुमधुर’

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ६ साउन

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र जर्जियाबीच सुमधुर सम्बन्ध रहेको तथा त्यसलाई अझ सुदृढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताउनुभएको छ । जर्जियाको राष्ट्रिय दिवसका अवसरमा आज राजधानीमा उक्त देशका अवैतनिक वाणिज्यदूत शिवरतन शारडाले आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले नेपाल र जर्जियाबीच पहिलोपटक राजनीतिकस्तरमा परामर्श हुनुले दुवै पक्षको क्रियाशीलतालाई प्रतिविम्बित गर्छ भन्नुभयो । 

    गणतन्त्रात्मक शासन पद्धति अँगालेका दुवै देशका विकासका आकाङ्क्षा समान रहेका बताउँदै मन्त्री ज्ञवालीले युरोपको पहाडी मुलुक जर्जिया र एशियाको अर्को पहाडी देश नेपालबीच सन् २००५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै राष्ट्रले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझा हित एवम् चासोका विषयमा सहकार्य गर्दै आएका बताउनुभयो । 

    पर्यटन, जलस्रोत, जलवायु परिवर्तन, व्यापार तथा लगानीका क्षेत्रमा जर्जिया र नेपालबीच साझेदारीका प्रशस्त सम्भावना रहेका भन्दै उहाँले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई मुलुकबीचको सम्बन्ध क्रमशः उन्नत हुँदै गएको बताउनुभयो । 

    जर्जियाका परराष्ट्र सचिव अर्चिल जुलियासिभ्लीले जर्जियाको भौगोलिक अखण्डता र सार्वभौमिकताका पक्षमा नेपालले गरेको समर्थनको सराहना गर्दै जर्जियाली पर्यटन व्यवसायी नेपाल आउन इच्छुक रहेको बताउनुभयो । 

    दुवै देशको समान हिमाली संस्कृतिको चर्चा गर्दै उहाँले क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालसँग निकट सम्पर्क र समन्वयमा रहेर काम गर्न चाहेको बताउनुभयो । अवैतनिकदूत शारडाले जर्जिया–नेपाल सम्बन्धलाई व्यापार–वाणिज्यका क्षेत्रबाट थप मजबुत तुल्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast