मंगलवार, असोज ७, २०७६
    यातायात

    एक सातादेखि ठप्प छन् यी राजमार्ग

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ५ साउन । 
    पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोसी र मेची राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेको छ ।

     

    सिद्धिचरण राजमार्गको बेतेनी–घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइनमेन्ट’ नै परिर्वतन गर्नुपर्ने अवस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ । पूरै सडक पहिरोले बगाएपछि नयाँ ट्र्याक खोलेर सञ्चालन गर्ने तयारी भइरहेको छ । यो राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङ जिल्लामा औषधि र खाद्यान्न अभाव हुन थालेको छ ।

    पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गकोपाङ्ग्रेभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन । यसबाट तीन जिल्ला प्रत्यक्ष प्रभावित छन् । पाँचथरको निबु खोलानजिकै पहिरो खसेपछि आउजाउ कठिन भएको हो । पहिरो पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग बनाउन थालिएको छ । कोसी राजमार्गको धरान–धनकुटा खण्डमा गएको पहिरो हटाउन ३ महिना लाग्ने भएको छ । असार अन्तिम साताको अविरल वर्षाका कारण यो खण्डको ५२ किलोमिटर सडकका दर्जनौं ठाउँ क्षतिग्रस्त छ । पहिरो हटाउन समय लाग्ने भए पनि यो राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

    ठाँटीभन्ज्याङ क्षेत्रमा पहिरोले सिद्धिचरण राजमार्ग पूरै बगाएकाले ‘एलाइनमेन्ट’ परिवर्तन गरेर ४० मिटरमाथि नयाँ ट्र्याक खोल्ने तयारी गरिएको छ । भइरहेको सडक पहिरोमा परेपछि ४० मिटरमाथिबाट झन्डै ५ सय मिटर लामो ट्र्याक खोल्नुपरेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । ‘पहिरोले गर्दा सडक पूरै भत्किएकाले हाइट कटिङ गरेर बेस बनाउनुपर्ने हुन्छ,’ सडक डिभिजन लहानका प्रमुख विनोदकुमार साहले भने, ‘आधार नै भत्किएकाले एलाइनमेन्ट परिवर्तन गर्नुपरेको छ ।’ एलाइनमेन्ट परिवर्तन गरेर नयाँ ट्र्याक खोल्नुपरेकाले सडक सुचारु हुन कम्तीमा साता लाग्ने उनले बताए ।

    राजमार्गको माथिल्लो खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । मिर्चैया–कटारी र कटारी–बेतिनी खण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी–घुर्मी खण्ड पूर्ण अवरुद्ध छ । ‘अवरुद्ध खण्ड सुचारु गर्न सडक डिभिजनले सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ,’ प्रमुख साहले भने, ‘भौगोलिक कठिनाइ, मेसिन औजार प्रयोग गर्नेसम्मको स्थान नहुँदा समस्या जटिल छ ।’ सडक कार्यालयले दिनरात काम गरिरहे पनि दीर्घकालीन समस्या समाधान हुने खालको काम नभएको उनले बताए ।

    ठाँटीभन्ज्याङमा सडक बगेको र लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको छ । २५ किलोमिटर क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन भने सर्वसाधारणलाई हिँड्न पनि समस्या रहेको वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए । राजमार्ग अवरुद्ध हुँदा औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुँदै गएको समाचार कान्तिपुरमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast