शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    खाजा खाँदाखाँदै पड्कियो...

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ४ साउन । 
    बिहीबार साँझ । करिब ७ बजेको हुँदो हो, से७प ३१४४ नम्बरको मोटरसाइकलमा दुई जना आए र सहिदगेटको पूर्वपट्टि जस्तापाताले छाएको मिलन होटल छिरे । चियासमोसा मगाए । खाइसकेपछि चुरोट मागे ।

    उनीहरू थिए, नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रामबहादुर सिंह र लक्ष्मण सेराला । उनीहरूलाई चुरोट दिएर होटलका सञ्चालक केशव पाण्डे भित्र के छिरेका थिए, बाहिर विस्फोटको आवाज आयो(ड्याम्म । ‘उनीहरू चुरोट खाँदै थिए । म भित्र थिएँ । बाहिर अचानक ड्याम्म आवाज आयो,’ विस्फोटमा घाइते भई उपचाररत पाण्डेले भने, ‘विस्फोटबाट मेरा टाउकामा चोट लाग्यो र नजिकैको मायामेट्रो अस्पतालमा उपचार गराउन गएँ ।’चिकित्सकले टाउकामा रगत जमेको जानकारी दिएपछि उनी नेपालगन्ज गएका छन् ।

    घटनामा सिंहको ढाड र खुट्टामा गम्भीर चोट लागेको थियो । बिहीबार राति नै अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको छ । सेरालाको खुट्टा, पाखुरा र छातीमा गम्भीर चोट लागेकाले शुक्रबार साँझ शल्यक्रिया गरिएको छ । अर्धचेत अवस्था रहेका उनी केही बोल्न सक्ने अवस्थामा छैनन् ।

    घटनाका बेला होटलमा नास्ता खान बसेका भारतको लखिमपुर जिल्लाका ग्रिल मिस्त्री मोबिन खान र कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव पनि पनि घाइते भएका थिए । माया मेट्रोमै उनीहरूको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख धीरेन्द्र साउदले जानकारी दिए ।

    घटनास्थलबाट प्रहरीले एक थान मोटरसाइकल, मृतक सिंहको च्यातिएको झोलाबाट एक थान टेस्टर र डायरी फेला पारेको समाचार कान्तिपुरमा छ । 

    घटनापछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको कैलालीका एसपी सुदीप गिरीले बताए । ‘घाइते चारै जनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्,’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी तारिणीप्रसाद लम्सालले भने, ‘उनीहरूलाई आफन्तले भेटघाट गरिरहेका छन्, शनिबारसम्ममा डिस्चार्ज हुन सक्छन् ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast