मंगलवार, असोज ७, २०७६
    राज्य-समाज

    देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, ५ दिनको तलब बाढीपीडितलाई दिने

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर
    नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा शुक्रबार धनुषा र सिराहाको सिमनामा रहेको कमला नदीले क्षति पु¥याएको पुलको अवालोकन गर्दै । तस्वीर : रोशन सापकोटा रासस

    लहान, ३ साउन । 

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाका विभिन्न बस्तीको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ । 

    पूर्वप्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा र  सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गर्नुभयो । 

    पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिनुभयो । उहाँले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभयो । 

    बाँध निर्माणका क्रममा आर्थिक अनियमितता भएकाले यसको छानबिन गर्नुपर्छ, यसका लागि छुट्टै आयोग गठन गर्नुपर्छ । 

    आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको बताउँदै उहाँले बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । 


    पाँच दिनको तलब बाढीपीडितलाई  

    सभापति देउवाले बाढीपीडितको राहतका लागि पार्टीका सांसदले पाँच दिनको तलब उपलब्ध गराउने बताउनुभएको छ । 
    सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभा सदस्यले आफ्नो तलब राहतस्वरुप बाढीपीडितलाई प्रदान गर्ने बताउनुभयो । 

    बाढीपीडितको सहयोगका लागि काङ्ग्रेसका गाउँदेखि जिल्ला तहसम्मका नेता कार्यकर्तालाई खट्न पनि उहाँले निर्देशन दिनुभयो । भारतसँग कूटनीतिक पहल गरी नदीमा तटबन्ध निर्माण गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । 

    कमला नदी नियन्त्रणका लागि बनाइएका बाँध कमजोर र पुराना भएकाले यसको निर्माणमा सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।

    “बाँध निर्माणका क्रममा आर्थिक अनियमितता भएकाले यसको छानबिन गर्नुपर्छ, यसका लागि छुट्टै आयोग गठन गर्नुपर्छ”, देउवाले भन्नुभयो । उहाँले कमला नदीको मूल बाँधका साथै सिरहा, कर्जन्हा, कल्याणपुर र सुखीपुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्नुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast