आईतवार, भाद्र २९, २०७६
    राज्य-समाज

    ‘इञ्जिनीयरभन्दा पहिला महिला भनेर हेरिन्छ’

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर
    चिप्लेढुङ्गा, ३ साउन 
     
    प्राविधिक शिक्षामा महिलाको उपस्थिति अझै पनि बढ्न नसक्नुका कारणबारे पोखरामा छलफल गरिएको छ ।
     
    नेपाल इञ्जिनीयर्स एशोशियशन गण्डकी प्रदेशले ५७आँै इञ्जिनीयरिङ दिवसका अवसरमा पोखरामा आयोजना गरेको ‘सेमिनार अन वुमन एन इञ्जिनियरिङ’ कार्यक्रममा सहभागीले यस क्षेत्रका चुनौती र अवसरको बारेमा आफ्ना कुरा खुलेर राखेका छन् । 
     
    कार्यक्रममा सहभागीले इञ्जिनीयर भन्दा पहिला महिलाको आवरण नियालेर व्यवहार गर्ने परिपाटीले पेशाप्रति सम्मान हुन नसकेको धारणा राखेका थिए । पितृसत्तात्मका सामाजिक समाजमा एउटै काम र क्षमतामाथि पनि महिला भएकै कारण हुने विभेद् हिंसादेखि महिला भएकै कारण प्राप्त हुने अवसरका बारेमा समेत सहभागीले आफ्ना अनुभव राखेका थिए । 
     
    इञ्जिनीयरका अनुसार पहारीले यस क्षेत्रमा महिलालाई चुनौती भए पनि अवसर धेरै रहेको धारणा राख्नुभयो । अझै पनि धेरै छोरी यस क्षेत्रमा पढ्न चाहे पनि सामाजिक आर्थिक कारणले आउन नसकेको उहाँको भनाइ थियो । इलेक्ट्रिकल इञ्जिनीयर दीक्षा शर्माले सामाजिक सुरक्षा र आर्थिक पक्ष पहिलो शर्त हुने गरेको भनाइ राख्नुभयो ।
     
    समस्याका चाङ धेरै रहेका तर त्यो राख्ने उचित ठाउँ नभएकाले यस क्षेत्रमा महिला झनै समस्यामा हुने गरेका उहाँको भनाइ थियो । 
     
    कार्यक्रमा डा सुमित्रा अमात्यले इञ्जिनीयरिङ क्षेत्रमा चुनौती र अवसर,  जुन डङ्गोल हाडाले वर्तमान समयमा साइन्स टेक्नोलोजी, इञ्जिनीयरिङ र म्याथम्याटिक्समा महिलाको अवस्था र पत्रकार बबिता बस्नेतले व्यावसायिक महिलाका चुनौती र त्यसबाट हासिल हुने अवसरका विषयमा प्रस्तुति राख्नुभएको थियो । 
     
    सहभागीको जिज्ञासा र प्रदेश सरकारको नीतिबारे बोल्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले अभिभावकले छोरीमा लगानी गर्न अझै पनि सकारात्मक हुन नसक्दा प्राविधिक क्षेत्रमा महिलाको उपस्थित सोचे जसरी बढ्न नसकेको बताउनुभयो । 
     
    परिवारबाटै छोरा र छोरीबीचमा गरिने विभेद्को असर शिक्षामा प्रत्यक्ष देखिएको भन्दै छोराको साहाराबिना बाँच्न सक्दिन भन्ने सोच बदल्नुपर्ने बताउनुभयो । 
     
    पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला इञ्जिनीयरको समस्या समाधानका लागि महानगरपालिका सधैँ तयार रहेको बताउनुभयो । 
     
    नेपाल इञ्जिनीयर्स एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले प्राविधि विषय भनेको जीवन जीउनाले कला भएकाले यसलाई जीवनसँग जोडेर सरलीकृत गराउनुपर्ने धारणा राख्नुभयो । 
     
    प्रत्येक नौ जनामा एकजना मात्रै महिला इञ्जिनीयर हुने गरेको तथ्याङ्क राख्दै नेपालमा इञ्जिनीयर्स एशोसियशनमा जम्मा ७.३८ प्रतिशत मात्रै व्यावसायिक महिला इञ्जिनीयर्स आवद्ध रहेका उहाँले बताउनुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast