आईतवार, भाद्र २९, २०७६
    राज्य-समाज

    विप्लवको माग अस्वीकार, सरकारले राख्यो यस्तो पूर्वसर्त

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३ साउन । 
    सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि उसले हतियार बिसाउनुपर्ने पूर्वसर्त अघि सारेको छ। विभिन्न सम्पर्क सूत्रमार्फत विप्लव समूहसँग वार्ता प्रयास जारी रहेको धारणा सरकारी टोलीका संयोजक सोमप्रसाद पाण्डेले सार्वजनिक गरिरहेका बेला सरकारकै प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हतियार नबिसाएसम्म वार्ता असम्भव भएको बताएका हुन्।

    उहाँहरूले हिंसा छोड्यौं, संविधान मान्यौं, प्रतिस्पर्धाको राजनीतिमा आयौं, र हतियार बिसायौं भनेको एक मिनेटमै समस्या समाधान हुन्छ, हिजोको हापुरे वार्ता जस्तो तिकडमबाजी अब चल्दैन। शक्ति सञ्चय गर्ने विप्लवको रणनीतिमा अब सरकार फस्दैन

    मन्त्री बाँकोटाका अनुसार विप्लव समूह हतियार बिसाएर शान्तिपूर्ण तथा प्रतिस्पर्धाको राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिन्छ। असम्भव मागका सामु वार्ताका नाममा ‘कुमालेको चक्र’ मा फस्ने पक्षमा सरकार नरहेको पनि उनले स्पष्ट पारे।

    विप्लव समूहले आफ्नो पार्टीका नेताकार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा र नेता/कार्यकर्ताको सुरक्षाको ग्यारेन्टी भएमात्रै सरकारसँग वार्तामा बस्न सकिने बताउँदै आएको छ। विप्लव समूहको मागलाई पनि सरकारले अस्वीकार गरेको समाचार नागरिकमा छ । 

    ‘उहाँहरूले हिंसा छोड्यौं, संविधान मान्यौं, प्रतिस्पर्धाको राजनीतिमा आयौं, र हतियार बिसायौं भनेको एक मिनेटमै समस्या समाधान हुन्छ,’ सरकारका प्रवक्ता बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हिजोको हापुरे वार्ता जस्तो तिकडमबाजी अब चल्दैन। शक्ति सञ्चय गर्ने विप्लवको रणनीतिमा अब सरकार फस्दैन।’

    तत्कालीन विद्रोही नेकपा माओवादीले हतियार नबिसाएको अवस्थामा दाङको हापुरेमा सरकारले वार्ता गर्दा विद्रोही पक्षलाई मात्रै फाइदा पुगेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले अब सरकार कुनै पनि किसिमको तिकडमबाजीमा नफस्ने स्पष्ट पारे। विप्लव समूहसँग एके–४७ लगायत शक्तिशाली हतियार भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन्।

    ‘विप्लव समूहका माग सरकारले पूरा गर्ने तर वार्तामा नआए त्यसको जिम्मा कस्ले लिन्छ ?’ पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले तत्कालीन विद्रोही माओवादीसँग २०६० सालमा भएको असफल वार्ता स्मरण गर्दै भने, ‘अब छक्कापन्जा गरेर हुँदैन, वार्ता केका लागि गर्ने ? पक्राउ मान्छे छुटाएर फेरि बन्दुक बोक्न वार्ता हुँदैन।’ हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै वार्ता हुने उनले स्पष्ट पारे।

    प्रतिबन्धित नेकपाले आफ्नो क्षयीकरण भएको शक्ति प्राप्त गर्ने रणनीतिअन्तर्गत वार्ता गर्न चाहे त्यो सफल नहुने उनले बताए। ‘कमजोर धरातलमा उभिएर तथा निष्कर्ष र गन्तव्यबिनाको वार्ता हुँदैन, असम्भव माग राखेर वार्ता हुँदैन,’ मन्त्री बास्कोटाले भने।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast