शनिबार, मंसिर २८, २०७६
    लाइफस्टाइल

    पढेको कसरी सम्झिने ? स्मरणशक्ति बढाउने विशेष विधि

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २ साउन

    कोही कोही मानिस सानैदेखि जे भेटे पनि पढ्ने, जतिबेला पनि पढ्ने स्वभावका हुन्छन् । तर धेरैजसो मानिसका लागि पढ्नु रुचिको विषय हुँदैन । 

    आफुभन्दा ठूलाले पढाइको महत्व सम्झाएर, नपढे भविष्यमा आइपर्ने समस्या देखाएर वा अनेक उपाय लगाएर पढ्न जोड दिने गर्दछन् ।

    बाल्यावस्थामा विद्यालयमा साथीहरूसँग खेल्न पाइने तथा कुनै माया गर्ने शिक्षक–शिक्षिकाको माया पाइने लोभले पनि बालबालिका विद्यालय जान लालायित हुन्छन् । तर जब पाठ पढ्नुपर्ने र स्मरण गर्नुपर्ने अवस्था आउँछ, तब समस्या सृजना हुन्छ । 

    जतिपटक पढ्दा पनि नसम्झिने, जसरी पढ्दा पनि नसम्झिने समस्याले साह्रै पिरोल्ने गर्छ । खानपिन, आरामका साथै केही विशेष विधि अपनाएर स्मरणशक्ति बढाउन सकिन्छ ।

     

    दिमाग खाली गर्ने
    कुनै भाँडामा केही हाल्नु छ भने पहिले उक्त भाँडोलाई खाली गर्नुपर्दछ । मस्तिष्क पनि एक प्रकृतिको भाँडो नै हो । यसमा आफुलाई आवश्यक चीजहरू राख्न (स्मरण गर्न) सबैभन्दा पहिले यसमा ठाउँ खाली राख्नु पर्दछ । हुन त मस्तिष्कमा कति कुरा अट्न सक्छ भन्ने यकिन तथ्य छैन । 

    तर एउटा सत्य के हो भने कुनै पनि मानिसको मस्तिष्कको सबै क्षमता प्रयोग भएको हुँदैन । मस्तिष्कको कति क्षमता छ भन्ने कुरा व्यक्तिले त्यसलाई कति प्रयोग गरेको छ भन्नेमा फरक पर्दछ । जे होस् प्रत्येक व्यक्तिले आफुले प्रयोग गरे जति मस्तिष्कमै पनि खाली ठाउँ निर्माण नगरी नयाँ कुरा राख्न सकिन्न । 

    मस्तिष्क खाली गर्ने राम्रो उपाय भनेको योगाभ्यास र ध्यान हो । हरेक दिन बिहान आधा घण्टा योगाभ्यास र आधा घण्टा ध्यान गर्ने बानी बसाल्ने हो भने यसले स्मरण शक्ति बढाउन धेरै ठूलो मद्दत गर्दछ । 

    योगाभ्यासले विकारयुक्त हावालाई निकाली प्राणवायुद्वारा शरीर साथै मस्तिष्कमा स्फुर्ती ल्याउँछ भने ध्यानले कुन कुरा मस्तिष्कमा राख्ने र कुन हटाउने भन्ने निर्णय आफ्नो हातमा ल्याइदिन्छ । त्यसैगरी यसले चाहेको विषयवस्तुमा ध्यान लगाउन मद्दत गर्दछ ।


    खानपान

    जीवनको प्रमुख आधार खानपानसँग जोडिएको हुन्छ । एक अध्ययनका अनुसार मानिसमा आउने स्वास्थ्य समस्यामध्ये ८० प्रतिशत खानपानका कारण हुने गर्दछन् । 

    आफ्नो वरपर उपलब्ध खानेकुरा मिलाएर खाने हो भने स्वस्थकर खानाका लागि थप खर्च गरिरहनु पनि पर्दैन । पर्याप्त पानी पिउने, खानामा सम्पूर्ण तत्वको मात्रा मिलाएर खाने, भोकै नबस्ने, कोचेर नखाने गर्ने हो भने सोहीअनुसार शरीरले सन्तुलित मात्रामा पाचनको प्रक्रिया सञ्चालन गर्न सक्छ । 

    शरीरले सहज तरीकाले काम गर्न सकेको अवस्थामा मस्तिष्कमा पनि पर्याप्त पोषण पुग्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast