आईतवार, भाद्र २९, २०७६
    यातायात

    सडक स्तरोन्नतिले यात्रा छोटिएपछि तमानखोलावासी हर्षित

    बुधबार, १ श्रावन २०७६, आहाखबर

    बलेवा, १ साउन

    मध्यपहाडी लोकमार्गसँग गाउँपालिकाको केन्द्र जोड्ने सडकको स्तरोन्नति भएपछि जिल्लाको तमानखोला गाउँपालिकाका सर्वसाधारणले सहज यात्रा गर्न थालेका छन् । 

    साँघुरो कच्ची सडकमा १० वर्षदेखि यात्रा गर्दै आएका तमानखोलावासीले फराकिलो सडकमा यात्रा गर्न पाउँदा सहज भएको बताए । “पहिले त बाटो आए पनि निकै दुःख पाइयो”, स्थानीय दीलमती घर्तीले भन्नुभयो, “अहिले निकै सजिलो भएको छ ।”

    जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट १० किलोमिटर उत्तरमा पर्छ तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गा दोभान । गाउँपालिकाको केन्द्रदेखि सवै वडामा जाने मुख्य सडक हो बुर्तिवाङ–बोङ्गादोभान–खुंखानी सडक खण्ड । 

    सडक ट्रयाक खुलेको १० वर्ष बिते पनि तमानखोलाका स्थानीयले सहज यात्रा गर्न थालेको एक वर्ष मात्रै भयो । एक वर्ष पहिलासम्म मनै सिरिङ्ग हुने सडकमा यात्रा गरेका तमानखोलावासीले अहिले भने सहज यात्रा गर्न थालेका गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । 

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सो सडक स्तरोन्नति गरेपछि तमानखोलाको यात्रा सहज भएको हो । सडक फराकिलो बनेको र ग्राभेलसमेत भएकाले तमानको यात्रा सहज भएको अध्यक्ष बुढाले बताउनुभयो । अहिले सडकमा दोहोरै सवारी चल्न थालेको उहाँको भनाइ थियो । सडक फराकिलो बनेपछि यात्रा सहज मात्रै भएको छैन गाउँपालिकाको केन्द्र पुग्न लाग्ने समय बचत भएको छ । स्तरोन्नति गरिएको सडकको चौडाइ नालीसहित ७.२५ मिटरको छ । 

    “एक वर्ष पहिलासम्म निकै साँघुरो थियो, दोहोरो गाडी नचलेर फराकिलो ठाउँ हेरेर कुर्नुपर्ने अवस्था थियो”, गाउँपालिका अध्यक्ष बुढाले भन्नुभयो, “अप्ठ्यारो ठाउँमा सजिलो भएको छ, अहिले बुर्तिवाङदेखि बोङ्गादोभान एक घण्टामै पुगिन्छ ।” प्राधिकरणले झण्डै रु १६ करोडमा स्तरोन्नतिको काम थालेको हो ।

    आगामी कात्तिकसम्म सबै कामसक्ने जिम्मेवारी पाएको कालिका प्यासेफिक जेभीले अधिकांश काम सकेको छ । भिरपहरा रहेको केही ठाउँमा कटानको काम र केही अप्ठ्यारो भू–भागमा नाली निर्माणबाहेक अधिकांश काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

     सडक फराकिलो बनेपछि माल सामान ढुवानी सहज भएको स्थानीय दिलमती घर्तीले बताउनुभयो । सडक फराकिलो बने पनि तमानखोलामा पुल नबनेकाले वर्षात्को समयमा यात्रामा कठिनाइ हुने  गरेको छ । उक्त सडकखण्डअन्तर्गत हुन्द्रफेदी र भालीवाङघाटमा खोला तर्नुपर्छ । 

    दुवै ठाउँमा पुल नबन्दासम्म वर्षात्को समयमा तमानखोलाको यात्रा जोखिमपूर्ण रहेको अध्यक्ष बुढाले बताउनुभयो । “हामीले पालिकाको सानो लगानीमा पुल बनाउन सकेनौँ”, बुढाले भन्नुभयो, “प्राधिकरणको कार्यक्रममा पुल नभएका कारण निर्माण हुन सकेन ।” दुवै ठाउँमा पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गरिएको अध्यक्ष बुढाले बताउनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast