शनिबार, मंसिर २८, २०७६
    कृषि-उर्जा

    असार सकियो, रोपाइँ सकिएन, मनसुनी गतिविधि कमजोर हुँदै

    मंगलवार, ३१ आषाढ २०७६, आहाखबर
    काठमाडौँ, ३१ असार ।
     
    असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले जिल्लाको उत्तरी भेगमा सिँचाइ सुविधा नभएका कारण १५ प्रतिशत रोपाइँ गर्न बाँकी छ । 
     
    महाकाली सिँचाइ तेस्रो चरणको नहर बनेपछि जिल्लाका उत्तरी भेगमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । अधिकांश किसानहरुले भूमिगत सिँचाइबाट रोपाइँ गरेपनि यो वर्ष वर्षा नहुँदा साउनसम्म रोपाइँ हुन नसकिएको हो । सुदूरपश्चिम प्रदेशका लागि अन्न भण्डारको रुपमा चिनिने कञ्चनपुरमा ११ हजार हेक्टर क्षेत्रफमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
     
    महाकाली सिँचाइअन्तर्गत पहिलो र दोस्रो चरणबाट भीमदत्तनगर र बेल्डाँडी क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाको बनिसकेपछि  यहाँको ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने केन्द्रले जनाएको छ ।
     
     
    मनसुनी गतिविधि कमजोर हुँदै
     
    गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । 
     
    “न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ”, मौसमविद् श्रेष्ठले भन्नुभयो । यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ । 
     
    तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ । 
     
    राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशभर आंंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू–भागका केही स्थानमा र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast