सोमबार, भाद्र २, २०७६
    अावास-निर्माण

    वाग्मतीलाई कञ्चन बनाउने यस्तो छ योजना

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ३० असार

    पशुपति क्षेत्रको विद्युतीय शवदाहगृहबाट चार शिवालयसम्मको सडकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढुङ्गा विच्छ्याई पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

    समितिले छ करोड ४८ लाखको लागतमा ६०० मिटर सडकमा ढुङ्गा विच्छ्याउने काम सम्पन्न गरेको हो । सडक हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रको गुह्यश्वरीबाट तिलगङ्गासम्मको वाग्मतीमा कञ्चन पानी बगाउने कोषको अभियानमा समितिको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    “यसका लागि गुह्येश्वरी र तिलगङ्गाको ढल अन्यत्र मोड्नुपर्छ, आउँदो शिवरात्रिसम्म यस क्षेत्रमा वाग्मतीमा स्वच्छ पानी बगाउने कोषको योजनामा समितिको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।
     
    सो क्षेत्रको पानी शिवरात्रिसम्म कञ्चन एवं स्नानयोग्य बनाउन सके नेपाल भ्रमण वर्षमा धार्मिक पर्यटकको सङ्ख्या बढाउन सहयोग पुग्ने ढकाल बताउनुहुन्छ । पशुपति दर्शन गर्न आउने तीर्थयात्रीले वाग्मतीमा स्नान गर्न इच्छा राख्छन् । 

    विभिन्न धर्मग्रन्थमा वाग्मतीमा स्नान गरेर पशुपति दर्शन गरे मनोकाङ्क्षा पूर्ण हुने वर्णन गरिएकाले पनि यो अभियान चलाउन लागिएको कोषले जनाएको छ । 

    अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले पशुपति क्षेत्रको वाग्मतीलाई स्वच्छ बनाउन कोषसँग सहकार्य गरी काम गरीने प्रतिबद्धता जनाउनुभयो । 

    सो अवसरमा कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे, उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारलगायतले वाग्मती नदीसँग सरोकार राख्ने निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast