आईतवार, भाद्र ८, २०७६
    आर्थिक खबर

    ह्वात्तै बढ्यो तरकारी र फलफूलको भाउ, कुन तरकारीको मूल्य कति ?

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौं, ३० असार ।

    केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ ह्वातै बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पुर्याएको असरका कारण तरकारीको भाउ बढेको हो । 

    भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको कालीमाटी स्थित तरकारीका बजारका व्यापारी बताउँछन्। वर्षातपछि बजारमा पहिलेजति धेरै तरकारी नआएको व्यापारी सूर्य लामाले बताए । 

    कुन तरकारीको भाउ कति छ ?

    वर्षाअघि ५० रुपैयाँ प्रतिकिलो रहेको मूला ७० रुपैयाँ बढेर १ सय २० रुपैयाँ पुगेको छ । ६० सय रुपैयाँ प्रतिकेजी रहेको काउली ४० रुपैयाँ बढेर अहिले १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै पहिलो ३० रुपैयाँ प्रतिकेजी रहेको तितेकरेलाको भाउ किलोमै ४० रुपैयाँ बढेर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै ५० रुपैयाँ रहेको भन्टा ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

    ४० रुपैयाँ प्रतिकिलो रहेको घिरौँला ९० रुपैयाँ पुगेको छ भने ५० रुपैयाँ प्रतिकिलो रहेको भिडेखुर्सानी ९० रुपैयाँ पुगेको छ । ७० देखि ८० रुपैँया प्रतिकिलो रहेको काँक्रो ४० रुपैयाँ बढेर १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ ।  ५० रुपैयाँ प्रतिकिलो रहेको बन्दागोपी ३० रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ । 

    यस्तै ८० रुपैयाँ प्रतिकिलो रहेको बोडी  १ सय २० रुपैँया प्रतिकिलो पुगेको छ । खुसार्नीको  भाउ पनि दोब्बरले बृद्धि भएको छ । होलसेलमा ५० रुपैयाँ प्रतिकिलो रहेको खुर्सानीको भाउ बढेर १ सय रुपैयाँ पुगेको छ । 

    २ सय ५० रुपैयाँ थोक मूल्य रहेको अदुवा २ सय ८० रुपैयाँ पुगेको छ । यता ब्रोकाउलीको भने भाउ घटेको तरकारी ब्यापारी पवित्रा सापकोटाले बताइन् । उनका अनुसार केही दिन पहिले ५ सय रुपैयाँसम्म प्रतिकिलो विक्री भएको ब्रोकाउली अहिले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरिरहेको बताइन् । यता आलू तथा प्याजको भाउमा भने घटबढ नभएको व्यापारीहरुले बताए ।

    यस्ताे छ फलफूलकाे बजार भाउ 

    दैनिक भान्छामा पाक्ने तरकारी मात्र नभई फलफूलको पनि भाउ बढेको छ । कालीमाटी तरकारी बजारका फलफूल बिक्रेताका अनुसार ४० रुपैयाँ प्रतिकेजी थोक बजार मूल्य रहेको खरबुजा ६० रुपैयाँ, ठूलो फुजी स्याउको खुद्रा मूल्य ३ सय ५० हराहारी रहेकोमा अहिले ४ सय सम्म पुगेको छ । यस्तैै सानो फुजी स्याउ २ सय ६० देखि ३ सय रुपैँया प्रतिकेजी रहेकोमा अहिले ३ सय ५० देखि ३ सय ६० रुपैँया प्रतिकेजी पुगेको छ । 

    यस्तै मालदह आँप प्रतिकिलो १ सय २० रपैयाँ रहेकोमा अहिले १ सय ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । एभोकाडो १ किलोमै १ सय रुपैँया भाउ बढेको छ । ३ सय ५० रुपैयाँ प्रतिकिलो रहेको एभोकाडो ४ सय ५० रुपैयाँ पुगेको छ । 

    १ सय ६० रुपैयाँ प्रतिकिलो रहेको मौसम १ सय ८० रुपैयाँ पुगेको छ भने दर्जनको १ सय २० रुपैयाँ पर्ने मालभोग केरा १ सय ५० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो १ सय रुपैयाँ थोक मूल्य रहेको लिचीको मूल्य १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको फलफूल व्यापारी विकास साहले जानकारी दिए । 

    अहिले काठमाडौं उपत्यकामा धार्दिङ, मकवानपुर, चितवन, फर्पिङ, छैमले लगायतका क्षेत्रबाट तरकारी आउने गरेको छ । भक्तपुरबाट काँक्रो, घिरौँला लगायतका तरकारी आउने गरेको छ भने चितवनबाट भण्टा, लौका लगायतका तरकारी आउने गरेको छ । यस्तै काठमाडौंको रिङरोड बाहिरका क्षेत्रमा टनेलमा उत्पादन भएको गोलभेडाँले उपभोक्ताको माग पूरा भइरहेको छ ।

     कृषकसम्म यातायात सम्पर्क टुट्नु तथा बाढी डुवानका कारण पर्याप्त सवारी साधन नचलेका कारण यसरी तरकारीको भाउ बढेको तरकारी व्यापारीहरुको भनाई छ । मौसममा सुधार आएमा पहिलेकै अवस्थामा तरकारीको भाउ आइपुग्ने उनीहरुको भनाई छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast