मंगलवार, असोज ७, २०७६
    खेल संसार

    इंग्ल्याण्डलाई विजेता घोषणा गर्ने नियमको आलोचना, गौतम गाम्भिरको 'गम्भीर' जवाफ

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    ३० असार, काठमाडौं । 

    एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत फाइनल खेल त इंग्ल्याण्डले जित्यो, तर प्रशंसा न्यूजिल्याण्डको पनि भइरहेको छ ।

    एक दिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि इंग्ल्याण्डले आफ्नो नाममा गरिसकेको छ । फाइनलको अति रोमाञ्चक खेलमा इंग्ल्याण्डले न्युजील्याण्डलाई हराएको हो ।

    टस जितेर पहिला ब्याटिङ गर्न उत्रेको न्युजिल्याण्डले आठ विकेट गुमाएर २४१ रन बनायो । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले पनि पूरा ५० ओभर खेलेर २४१ रन नै बनायो ।

    जितपछि इंग्ल्याण्डका कप्तान इयान मोर्गनले भने ‘केन र उनको टिमप्रति मेरो सहानुभूति छ । मलाई लाग्छ कि आजको खेल अति नै प्रतिस्पर्धात्मक भयो । यस्तो पिचमा खेल्न हाम्रो लागि मुस्किल थियो । तर अन्तिममा हामीले यो गरेर देखायौँ, हामी धेरै खुशी छौँ कि हामीले यो ट्रफी उचाल्न सक्यौँ ।’

    सँगसँगै विजेता घोषणाको आधारको आलोचना पनि भइरहेको छ ।

    जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराए । दर्शकको नजर यी दुवै खेलमा थियो ।

    वर्ल्डकप क्रिकेटको फाइनल प्रतिस्पर्धा सकिनासाथ बिभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुन थाले । यसबीचमा विम्बल्डनले आईसीसीलाई मेन्सन गर्दै एक रोचक ट्वीट गर्यो । ट्वीटरमा लेखिएको थियो- हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्छौ ?

    त्यसपछि क्रिकेट वर्ल्ड कपको ट्वीट आयो । त्यसमा इंग्ल्याण्ड च्याम्पियन भएको उल्लेख थियो । साथै थप के पनि लेखिएको थियो भने- एक विजेता, तर दुई च्याम्पियन ।

    वि्रटेनकी प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इंग्ल्याण्डलाई बधाइ दिइन् ।

    तर, भारतका पूर्वक्रिकेटर गौतम गाम्भिरको प्रतिक्रिया भने अलग थियो । उनले विजेता घोषणा गर्ने आधारको आलोचना गरे । इंग्ल्याण्डलाई धेरै बाउन्ड्री हानेको आधारमा विजेता घोषणा गरिएको थियो ।

    त्यसको विरोध गर्दै गाम्भिरले भने- खेलको विजेताको फैसला सबैभन्दा धेरै बाउन्ड्री हान्ने आधारमा भयो, आईसीसीको यो बेतुकको नियम हो । खेल बराबरी हुनुपर्थ्यो । म दुवै टिमलाई बधाइ दिन्छु, जसले राम्रो खेल खेले । विजेता दुवै हुन् ।’

    भारतकै अर्का पूर्वक्रिकेटर युवराज सिंहले पनि ट्वीट गरेर बाउन्ड्री धेरै हानेको आधारमा विजेता घोषणा गर्ने नियमप्रति असहमति जनाए । उनले लेखेका छन्, ‘म यो नियमसँग सहमत छैन । तर नियम त नियम नै हो । इंग्ल्याण्डलाई बधाइ छ । मेरो सहानुभूति किवी -न्यूजील्याण्ड)सँग छ । उसले अन्तिमसम्म राम्रो खेल्यो ।’

    फाइनल खेल भलै इंग्ल्याण्डले जितेको छ तर न्युजिल्याण्डको खेलको पनि तारिफ भइरहेको छ। बाउन्ड्री कम भएपछि पराजित भएको न्युजिल्याण्डलाई सहानुभूति प्रकट गरिएको छ । धेरैले बाउन्ड्री नियममा आधारित रहेर विजेता घोषणा गरिने नियमको आलोचना गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast