आईतवार, भाद्र २९, २०७६
    ओएमजी Omg!

    डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

    सोमबार, ३० आषाढ २०७६, आहाखबर
    गाईघाट, ३० असार ।
    पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।
     
    जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । यता जिल्लाको मध्य पहाडी उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको ४ बलाम्ता क्षेत्रमा समेत पहिरोको कारण तीन दर्जन घर भत्कन थालेको र बलाम्ताको पर्शुराम पद्मा मावि विद्यालयसमेत पहिरोको जोखिममा परेको स्थानीय समाजसेवी कुमार राईले बताउनुभयो ।
     
      जिल्लाको पश्चिमी पहाडी गाउँपालिका ताप्लीको वडा नम्बर २ पनि चार घर पहिरोले भत्काएको ताप्ली गाउँपालिकाको अध्यक्ष उद्धवसिंह थापाले बताउनुभएको छ । उदयपुर गढी र लिम्चुङबुङ गाउँपालिकाका धेरै वडामा घर पहिरोले भत्काउन र तान्न थालेपछि अहिले सयौँ स्थानीय घर छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गइसकेको पनि सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
     
     जिल्लाकै रौतामाई गाउँपालिकाको सुनकोशी किनार क्षेत्रको अँधेरी छामलिङ, आँपटार खयसरबास क्षेत्रमा पनि पहिरोको कारण सयौँ घर अहिले जोखिममा पर्न थालेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले जानकारी गराउन भएको छ ।
     
     उदयपुरका प्रमुख जिल्ला अधिकार ध्रुवबहाुर खड्कासँग जानकारी माग्दा अहिले जिल्लामा दर्जनौँ घरलाई पहिरोले भत्काइसकेको र धेरै घर जोखिममा रहेको आफूसँग सूचना आएको तर मानवीय क्षति भने नभएको बताउनुभयो । पहिरो जाने क्षेत्र र जोखिममा परेका क्षेत्रका स्थानीयलाई सतर्क बस्न लगाइएको कारण उनीहरु सुरक्षित स्थानतर्फ रहेको कारण पनि ज्यानको खतरा नरहेको प्रजिअ खड्काले बताउनुभयो । 
     
    त्यसैगरी निरन्तर वर्षाको कारण उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्र, मध्य पहाडी र पश्चिमी पहाडी क्षेत्रका सडकमा पहिरो खसेपछि अहिले यातायात सेवा सञ्चालन कार्य पूर्णरुपमा बन्द हुन पुगेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्र रौता, आँपटार, फोक्सिङटार, साउने खाँबु सञ्चालन हुने सडक खण्डमा पहिरो खसेर रुखसमेत ढलेर सडक अवरुद्ध भएपछि यस क्षेत्रका सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast