शनिबार, मंसिर २८, २०७६
    लेख/संवाद

    कोसी बाँध : के साँच्चै ५६ वटै ढोका खोलिएको हो त ?

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार 

    प्रत्येक वर्षायाममा कोसी बाँधको ५६ ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । यसपटक पनि नेपाल सरकारका केही निकायले अनौपचारिक रूपमा प्रचार गरे– कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो ।

    ५६ ढोका खोलिएको यो समाचारप्रति कडा असहमति जनाउँछन्, सीमाविद् बुद्धिनारायण श्रेष्ठ । उनी भन्छन्, ‘ब्यारेजका ५६ ढोका कहिल्यै पनि खोलिँदैन । मुख्य कुरा के हो भने कोसी ब्यारेज नेपालको नियन्त्रणमा छैन, भारतको नियन्त्रणमा छ । उनका अनुसार सम्पूर्ण नियन्त्रण भारतको पटनाबाट हुन्छ ।

    कति ढोका खोल्ने र बन्द गर्ने भन्ने निर्णय पटनाबाटै हुन्छ । पटनाकै आदेशमा ब्यारेजमा रहेका कर्मचारीले ढोका खोल्ने र बन्द गर्ने गर्छन् । यस्तो अवस्थामा यति ढोका खोलियो र उति ढोका बन्द गरियो भन्दै नेपालका सरकारी अधिकारीहरूको हवाला दिँदै समाचार दिनुको के अर्थ हुन्छ ? बुद्धिनारायण प्रश्न गर्छन् । विगत दुई दिनदेखि प्रायः मिडियाले कोसीमा पानीको बहाव बढ्यो, अधिकांश क्षेत्र डुबानमा, यति ढोका खोलियो भनी समाचार दिइरहेका छन् । कोसीमा ‘ढोका’ राजनीति:नेपालमा वर्षापछि आउने बाढीमा पनि राजनीति हुन्छ । यस्तो राजनीति मुख्यगरी कोसी बाँधमा देखिने गरेको छ ।

    कोसीले भारतको बिहार राज्यमा डुबान गर्छ । यसैकारण कोसीलाई बिहारको दुःख समेत भनिन्छ । कोसी बाँधको ढोका नेपालले खोल्ने र बन्द गर्ने गर्छ भनी भारतभित्र प्रचार गर्ने गरिएको छ । आफ्ना कारणले नभएर नेपालका कारणले बिहारमा डुबान भएको भनी भारत सरकारले यसरी प्रचार गर्ने गरेको छ ।

     

    नेपाली मिडिया औजार 

    भारतीय जनतालाई गुमराहमा राख्न गरिने यस्तो प्रचारको औजार नेपाली मिडिया बन्ने गरेका छन् । अहिले भारतीय सञ्चारमाध्यमहरूमा नेपालले ब्यारेजको ढोका खोल्नाले बिहारमा बाढी आयो भनी व्यापक समाचार आइरहेको छ ।

    भारतीय सञ्चारमाध्यमका समाचारलाई पुष्टि गर्ने गरी नेपाली सञ्चारमाध्यमहरूले जानाजान तथा भ्रममा परेर समाचार दिइरहेका छन् ।

    वरिष्ठ पत्रकार पद्मसिंह कार्की भन्छन्, कोसी ब्यारेजमा कति वटा ढोका खोलियो या बन्द गरियो भनी नेपाली सञ्चारमाध्यमहरूले नेपाली पक्षसँग नभएर भारतीय पक्षसँग सोधेर समाचार बनाउन सक्नुपर्छ ।

    त्यो दिन:२०६५ भदौ २ गते कोसी ब्यारेजभन्दा पाँच किलोमिटर माथि बाँधको तटबन्ध फुट्यो । त्यसपछि नेपालको श्रीपुर, हरिपुर, प्रकाशपुर लगायतका क्षेत्रमा कोसी पस्यो । 

    कोसीको ताण्डवले केही मानिसको ज्यान गयो भने ठूलो विनासलीला मच्चायो । कोसी फुट्नाले भारतको बिहारको ठूलो क्षेत्रमा अकल्पनीय बाढी आयो । कतिपय भारतीय सञ्चार माध्यमले भारत स्वतन्त्र भएयताकै ठूलो बाढी भनी समाचार दिए ।

    त्यसबेला बिहारमा डुबान हुनुको एक मात्र दोषी थियो भारत । त्यसबेला ब्यारेजका पाँच–सात वटा ढोका मात्र खोलिएको सम्झन्छन् बुद्धिनारायण । अविरल वर्षा भइरहेका बेला थोरै ढोका खोलिनाले बाँधमा टनाटन पानी भरियो, अन्ततः तटबन्ध फुट्यो । 

    भारतले बेलैमा ढोका खोलेको थियो भने तटबन्ध फुट्दैनथ्यो र बिहारमा विनासलीला मच्चिँदैनथ्यो ।आफ्नै कारणले बिहारमा बाढी आएको तथ्य छोप्न भारतले प्रचार गर्यो– नेपालले बाँधको ढोका नखोल्नाले तटबन्ध फुटेको हो । 

     

    भारतीय झुठ

    अहिले पनि भारतले त्यही झुठलाई सत्य सावित गर्ने प्रयास गरिरहेको छ र भारतीय झुठ स्थापित गर्ने औजार बनिरहेका छन् कतिपय नेपाली सञ्चारमाध्यम ।कोसी बाँधको तथ्य

    नेपाल–भारत सीमा क्षेत्र नजिकै सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको कोसी बाँध सन् १९५८ मा बन्न सुरु भएर सन् १९६२ मा सम्पन्न भएको हो ।

    सन् १९६५ मा नेपालका तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुरले संयुक्त रुपमा उद्घाटन गरेको ब्यारेजमा ५६ वटा पानी नियन्त्रण गर्ने ढोका छन् । निर्माण गर्दा ३० मिटर अग्लो बाँधमा अहिले बालुवा र माटो भरिएर करिब १५ मिटर मात्रै भएको सीमाविद् बुद्धिनारायण बताउँछन् ।

    कोसी बाँध नेपालमा भए पनि कोसी बाँध आयोजना निर्माण गर्दाताका गरिएको सम्झौताअनुसार यसको सम्पूर्ण नियन्त्रण अधिकार भारतसँग छ । आयोजना निर्माण गर्दा एक सय ९९ वर्षका लागि सम्झौता गरिएको थियो ।

    नेपालको अधिकार बाटोमा मात्र:एक हजार एक सय ७५ मिटर लामो यो ब्यारेजमा बनेको बाटोले पूर्वपश्चिम राजमार्गलाई जोड्छ । यही बाटो हुँदै कोसी पूर्वका जिल्लाका मानिस काठमाडौंलगायत पश्चिम क्षेत्र आउजाउ गर्छन् ।

    कोसी ब्यारेज बनेपछि नेपाललाई फाइदा भएको भनेको यही एउटा बाटो मात्र हो । नेपालले पाएको एउटा मात्रै अधिकार भनेको यही बाटो हो । त्यसबाहेक कोसी ब्यारेजमा नेपालको कुनै अधिकार नभएको बताउँछन्, बुद्धिनारायण । (सनराइस खबरबाट साभार)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast