मंगलवार, असोज ७, २०७६
    खेल संसार

    विश्वकप फाइनल : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै, लर्डसमा जन्मिने छ नयाँ विश्वविजेता

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २९ असार ।

    विश्वकप क्रिकेटको फाइनलमा आईतबार न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । 

    जसले जिते पनि विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्ने छन् । न्युजिल्याण्ड चार वर्षपछि पुनः फाइनलमा पुग्न सफल भएको हो भने इंग्ल्याण्ड २७ वर्षपछि फाइनल पुग्न सफल भएको हो । विश्वकप क्रिकेटको ४४ वर्षको इतिहासमा इंग्ल्याण्डले उपाधिका लागि प्रयास गर्न लागेको यो चौथो पटक हो ।

    यसअघिका तीन प्रयासमा इंग्ल्याण्ड सफल हुन सकेको छैन । क्रिकेटको पवित्र स्थानका रुपमा लिइने लर्डसमा सन् १९७९ मा इंग्ल्याण्डले पहिलो पटक विश्वकपको फाइनल खेलेको थियो र पराजित भएको थियो । त्यो बेला इंग्ल्याण्डले लिग चरणमा अस्ट्रेलिया, क्याडा र पाकिस्तानलाई पराजित गरेको थियो र सेमिफाइनलमा न्युजिल्याण्डलाई पाखा लगाएको थियो । तर फाइनलमा वेष्ट इन्डिज ९२ रनले विजयी भयो र लगातार दोस्रो पटक उपाधि जित्ने पहिलो टिम बन्यो ।

    इंग्ल्याण्ड त्यसपछि सन् १९८७ मा फाइनलमा पुग्यो । भारत र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेको त्यसपटकको विश्वकपमा भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको इंग्ल्याण्ड अस्ट्रेलियासँग सात रनले पराजित भएर उपाधि बिहीन बन्यो ।

    पछिल्लो पटक उसले सन् १९९२ मा फाइनल खेलेको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको सो विश्वकपमा इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी टिमले इंग्ल्याण्डलाई २२ रनले पराजित गर्दै उपाधि जितेको थियो । सो विश्वकपको इंग्ल्याण्ड र अदिक्षण अफ्रिकाबिचको सेमिफाइनल खेल निकै विवादास्पद रह्यो । वर्षाका कारण प्रभावित भएको खेलमा डकवर्थ लुइस नियमका आधारमा दक्षिण अफ्रिकालाई एक बलमा २२ रन बनाउनु पर्ने विवादास्पद लक्ष्य दिइएको थियो ।

    तर यसपटक इंग्ल्याण्ड विजेता बन्ने सम्भावना धेरै रहेको तर्क गरिन्छ । यसपटक उ आयोजक देश हो र घरेलु मैदानमा खेलिरहेको छ । सन् २०११ मा भारत र २०१५ मा अस्ट्रेलियाले उपाधि जित्दा दुवै देश आयोजक थिए । तर सन् १९७९ मा इंग्ल्याण्ड आयोजक भएर पनि उपाधि जित्न सकेको थिएन । तर यसपटक इंग्ल्याण्डको प्रदर्शन राम्रो रहेको देखिएको छ ।

    फाइनलमा भेट भएको न्युजिल्याण्डलाई लिग चरणको भेटमा इंग्ल्याण्डले ११९ रनको फराकिलो जित दर्ता गरेको थियो । लिग चरणमा शीर्षस्थानमा रहेको भारतीय टिमलाई उसले ३१ रनले हराएको इंग्ल्याण्ड दोस्रो नम्बरमा रहेको अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गरेर फाइनल यात्रा तय गर्न सफल भएको हो ।

    न्युजिल्याण्डको टिम पनि निकै बलियो देखिएको छ । लिग चरणमा चौथो स्थानमा रहेको उसले शीर्ष स्थानमा रहेको भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

    क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast