सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    काठमाडौं उपत्यका नै जोखिममा

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार । 
     नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।

    गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयसमेत डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी यस वर्ष पनि जतिबेला पनि सहरमा पस्ने खतरा उस्तै छ । ललितपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

    बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विज्ञहरूले दाबी गरेका छन् । विपद्विद् मधुकर उपाध्याय खोलाखोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको बताउँछन् । ‘हामी आफैंले खोला खोल्सा अतिक्रमण गरेका छौं, पानी बग्ने मार्ग नै सानो बनाएका छौं त्यसैले यस्तो समस्या आयो,’ उनले भने ।

    काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी पनि नदी अतिक्रमणकै कारण बाढी घर बस्तीमा पसेको बताउँछन् । ‘नदी अतिक्रमण गरिएको छ, नदीमाथि फोहोर लगेर फाल्छौं त्यसैले बाढी आफ्नो क्षेत्रबाहिर जान बाध्य छ,’ उनले भने ।

    उनी विपद् निम्तनुका पछाडि मानवीय कारण मात्र नभएर प्राकृतिक कारण पनि रहेको बताउँछन् । उनी भन्छन्, ‘पानी सानो भएको ठाउँमा माटो थुप्रिँदै जान्छ । अनि, सधैं बाढी नआउने तर एकैचोटि ठूलो बाढी आउँदा पनि खोलो थुनिने गरेको छ ।’
    ‘वर्षा पनि परिवर्तन भएको छ, एकै ठाउँमा पानी ओइरिने गर्छ । अनि, पानीको मार्ग र बाटो साँघुरो छ । त्यसले पनि समस्या निम्तने गरेको छ,’ उपाध्यायले भने ।

    उनी पानी जमिनमा बिस्तारै सुसिने हो भने कम हुने तर त्यस्तो जग्गा जमिनसमेत भरिएको तर्क गर्छन् । ‘कौसीको पानी सिधै सडकमा पुग्छ, सडकबाट सिधै खोलामा पुग्छ, खोला सानो बनाइएको छ, पानी फैलिन पाउँदैन, यस्तो हुँदा ठूलो क्षति हुन जान्छ,’ उनले भने ।

    सस्तोको नाममा खोला खोल्सा किनारा आसपासमा जग्गा किन्नेहरू झनै खतरामा छन् । तिवारी सुरक्षित ठाउँमा जग्गा जमिन किनेर घर बनाउनुपर्ने र सस्तो भन्दैमा खोला किनारामा किन्न नहुने बताउँछन् । उनले खोला खोल्सामा फोहोर थुपार्ने र सफा नगर्ने कारण पनि यस्तो भएको भन्दै नागरिक आफैं पनि सचेत हुनुपर्ने बताउँछन् । 

     

    भूकम्प जस्तै सहरमा बाढीको जोखिम

    विज्ञहरू सहरमा भूकम्पको जस्तै जोखिम बाढीको रहेको बताउँछन् । २५ वर्षअघि जस्तो पानी काठमाडौं उपत्यकामा आउने हो भने यसले विशाल क्षति गर्नेे उनीहरूको तर्क छ । ‘अहिले त क्षति नै भएको छैन भन्दा हुन्छ,’ उपाध्ययले भने, ‘२५ वर्ष अघिजस्तो वर्षा हुने हो भने हामीले नसोचेको क्षति हुन जान्छ ।’

    २५ वर्षअघि ५ सय ४० मिलिमिटर पानी परेको थियो । शुक्रबार र शनिबार उपत्यकामा करिब १ सय ५० मिलिमिटर पानी परेको बताइएको छ ।
    विज्ञहरू अव्यवस्थित बसोबास, जथाभावी तयार पारिएका संरचना र पानी बग्ने ठाउँको अवरोधले उपत्यकाका खोला किनारा आसपासका बस्ती जहिल्यै पनि खतरामा रहेको बताउँछन् ।

    ‘प्रकृतिको भर हुन्न, जहिल्यै पनि आउन सक्छ, जत्रो पनि आउन सक्छ, हामी आफैं सचेत हुने हो,’ उपाध्याय थप्छन् ।
    २०४५ सालमा डोल क्षेत्र घोषणा गरिएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरण गठन गरी अग्ला र कडा माटो भएका ठाउँमा मात्र घर बनाउन दिने र नदी आसपासका जग्गा खेतीपातीलाई जोगाउने गरी उपत्यकाको गुरु योजना तय भएको थियो । उक्त मापदण्ड पालना नगरिएका घर प्राधिकरणले भत्काउने गरी ऐनको मस्यौदासमेत तय भएको थियो ।

    पञ्चायती व्यवस्था ढलेसँगै बहुदल आयो र त्यसपछि खोला अतिक्रमण बढेर गएको हो । ‘बहुदल आए पनि खोलानाला अतिक्रमण धेरै भयो, त्यसको समस्या अहिले देखिन थालेको छ,’ तिवारी भन्छन् ।

    उनका अनुसार हाल खोला व्यवस्थित बनाउने काम अहिले प्राधिकरणले गरिरहेको छ । धोबीखोला कोरिडोर बनेको र उपत्यकाका सबै खोला किनारा व्यवस्थित बनाउने काम भइरहेको समाचार राजधानीमा छ । 

    उपाध्याय भने अव्यवस्थित बसोबास र खोलालाई सानो ठाउँमा सीमित बनाएको तथा कहीँ खोलालाई खोल्सो जत्रो बनाएको भन्दै यसबाट भविष्यमा ठूलो खतरा आउने हो कि भनेर चिन्ता व्यक्त गर्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast