सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    बाढीपहिरो अपडेटः ३९ को मृत्यु, ३३ बेपत्ता, सडक अवरुद्ध, जनजीवन ठप्प

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार । 

    बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ। कम्तीमा ३३ जना बेपत्ता भएका छन्। राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ। समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी छ।

    बाढीपहिरोमा ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौंमा ३, इलाममा १, झापामा ३, ओखलढुंगामा २ र सुनसरीमा १ जनाको मृत्यु भएको छ। बारा, पर्सा र सप्तरीमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, दाङमा १, चितवनमा १, पाल्पामा १ र डोल्पामा १ जनाको निधन भएको छ।

    ललितपुरको महांकाल गाउँपालिकाको बुखेलमा ढिस्कोले पुरिएर आमाछोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। मृत्यु हुनेमा पानमाया लो र उनका १० वर्षका छोरा सञ्जीव लो छन्। कोन्जोस्योम घर भएका उनीहरू काम गर्न बुखेल पुगेका थिए।

    यस्तै गोठमा काम गर्न गएकी बुखेलकै सीता रानाको पहिरोले पुरिएर मृत्यु भएको छ। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। पानीको भेल तर्काउन खेतमा गएका बखुलेकै अविरल गोलेको मृत्यु जोशीले बताए। कुसुन्तीका सुबेस बस्नेतको बगेर मृत्यु भएको छ। नख्खु खोलाको किनारामा हिँड्दै गर्दा चिप्लिएपछि उनलाई र खोलाले बगाएको थियो। बागमती गाउँपालिकाको माल्टामा शुक्रबार बालक सरोज जिम्बाको घर भत्किएर ज्यान गएको थियो।

    राहतका लागि जिल्लाका प्रत्येक गाउँपालिकालाई ३० वटा कम्बल र ३० वटा टेन्ट उपलब्ध गराउने निर्णय भएको जोशीले बताए। काठमाडौंको मूलपानीमा घर भत्किँदा एकै परिवारका तीनजनाको निधन भएको थियो।

    प्रदेश १ प्रहरी कार्यालय विराटगनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार शनिबार भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राई छन्। यस्तै भोजपुरमै शुक्रबार जगतबहादुर राई र जनक विकको निधन भएको थियो। इलामको चुलाचुली–१ मा एकजनाको मृत्यु भएको छ।

    ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेकी खपुटी शेर्पा र याङ्जी शेर्पाको पहिरोमा पुरिएर मृत्यु भएको छ। यस्तै झापाको शिवसताक्षी नगरपालिका–५ सालमारास्थित सौगात चापागाईं र समीक्षा पौडेलको निधन भएको छ। झापाकै दमक नगरपालिका–१० की ६ वर्षीय बालिका एलिजा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

    खोटाङमा खोटेहाङ गाउँपालिका–२ का रेखा राई र छोराहरू रोमन र रोहनको मृत्यु भएको छ। पहिरोमा परी इलामको चुलाचुली गाउँपालिका–१ का अञ्चल लावतीको मृत्यु भएको छ। सुनसरीको इटहरी–५ मा सागर थापाको खोलाले बगाएर मृत्यु भएको छ।

    डुबानमा परेर बारा, पर्सा र सप्तरीमा गरी १–१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको गढी नगरपालिका–१ का निखिल पटेल, बारा परवानीपुर गाउँपालिका–१ की १८ महिनाका बालक छन्। यस्तै सप्तरीको सप्तकोसी नगरपालिका–७ बनिगामामा श्यामाकुमारीको डुबानमा परी मृत्यु भएको छ।

    बाढीपहिरोमा मृत्यु हुनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–२ की सुष्टि डिम्डुङ र कैलाश गाउँपालिका १० नामटारका सानुकान्छा सुनार छन्। थाहा नगरपालिका–३ की १४ वर्षीया सन्तमाया बलामीको मृत्यु भएको छ। काभ्रेको बनेपामा घर भत्कँदा काभ्रेमा गोमा दंगाल र सात वर्षीया नातिनी सोहनीे मृत्यु भएको छ। काभ्रेमै कृष्णदेवी रायमाझीको निधन भएको छ। सिन्धुलीमा बाढीपहिरोका कारण दुधौली नगरपालिका–४ कार्बन कापरी र फिक्कल गाउँपालिका १ झुल्खे महादेवडाँडाकी हेमकुमारी सुनुवारको निधन भएको छ। बाढीपहिरोमा परी धादिङमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–१० का राजकुमार ठकुरी र गजुरी गाउँपालिका–४ की अस्मिता तामाङ छिन्। यस्तै रामेछापमा गोठ भत्किएर पद्मकुमारी सुनुवारको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ मा पहिरोले पुर्दा दाङ घोराहीका अनिल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

    खोलाले बगाउँदा दाङको बंगलाचुली गाउँपालिका–८ कैनपानीका भक्तसिंह वैजालीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। यस्तै पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा पहिरो खस्दा लु५०प ४६७१ नम्बरको मोटरसाइकल चालक धनबहादुर सुनारीको मृत्यु भएको छ।

    बाढीले बगाएर डोल्पामा एक जनाको मृत्यु भएको छ। मुड्केचुला गाँउपालिकाकाको कालिका क्षेत्रमा बाढीले बगाउँदा ४३ वर्षीय धनराज बोहोराको मृत्यु भएको प्रहरीले जनाएको समाचार अन्नपूर्ण पोस्टमा छ । 

    बाढीपहिरोमा परी ३३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डोल्पामा १०, पाँचथरमा १, इलाममा ३, झापामा १, उदयपुरमा १, भोजपुरमा २ जना छन्। यसैगरी मोरङमा १, सुनसरीमा १, रौतहटमा १, महोत्तरीमा १, सिन्धुलीमा ४, मकवानपुरमा १, धादिङमा १, काठमाडौंमा १, ललितपुरमा १ जना बेपत्ता भएका छन्। इलामको माईखोला तर्ने क्रममा तीन विद्यार्थी बेपत्ता भएका हुन्।

    बाढीका कारण पूर्वी र मध्यतराईका विभिन्न जिल्ला डुबानमा परेका छन्।

    वर्षाका कारण प्रदेश २ आठ जिल्लामा गरी ५८ हजार १ सय ४० जना विस्थापित भएका छन्। उनीहरूलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast