मंगलवार, असोज ७, २०७६
    खेल संसार

    पहिलो टी–२० सिरिजमा मलेसियाले नेपाललाई दियो १२९ रनको लक्ष्य

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार । 
    टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो सिरिजमा मलेसियालाई जित्न    १२९ रनको लक्ष्य पाएको छ । टस जितेर घरेलु मैदानमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । 

    जारी सिरिजलाई नेपालले सिंगापुरमा अर्को साताबाट सुरु हुने आईसीसी  टी–२० विश्वकपको एसियाली छनोटको अभ्यासका रुपमा लिएको छ । कमजोर प्रतिद्धन्दी मलेसियासँगको २ म्याचको श्रृंखला अन्तर्गतको पहिलो खेल क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा जारी छ ।  

    मलेसियासँगको सिरिजलाई क्लिन स्विप गर्दै एसियाली छनोटमा उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको नेपाल, पहिलो खेलबाटै शानदार जितको योजनामा हुनेछ । टी–२० क्रिकेटमा मलेसियासँग भएका यसअघिका ४ भेट मध्ये ३ खेलमा जित हात पारेको आंकडाले पनि नेपाल बलियो देखिएको छ । दोस्रो खेल भने सोही मैदानमा भोलि हुनेछ । २ खेलको सिरिज सकेर केही दिनको मलेसिया अभ्यासपछि नेपाली टोली उतैबाट सिंगापुर जानेछ । जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने एसियाली छनोटमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । जुलाई २३ मा कतारसंग प्रतिस्पर्धा गर्दै नेपालले एसियाली छनोटको सुरुवात गर्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast