बिहिवार, असोज २, २०७६
    स्वास्थ्य

    अस्पतालको ‘शैया’मा ब्रह्मलुट

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार । 

    सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन् । ती अस्पतालहरूले बेड शुल्कबापत २ सय रुपैयाँँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ ।

    मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको देखिँदैन । संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ ।

    सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालले सामान्य बेडमा दैनिक २५०, आईसीयूमा १ हजार ३ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म लिँदै आएको छ । यस्तै, शिक्षण अस्पतालमा सिंगल र डबल क्याबिनका लागि ७५० रुपैयाँ निर्धारण गरिएको छ ।

    मुलुककै पुरानो सरकारी अस्पताल वीर अस्पतालले आईसीयूमा दैनिक ३ हजार रुपैयाँ लिने गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरले जनरल बेडका लागि २५० रुपैयाँ र आईसीयूमा ३ हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै, सिभिल अस्पतालले सामान्य बेडका लागि २ सय रुपैयाँ लिने गरेको छ । आईसीयू चार्जस्वरूप २ हजार रुपैयाँ र क्याबिनका लागि (सिंगल) ८ सय र (डबल) २ हजार रुपैयाँ लिने गरेको छ ।

    चाबहिलस्थित ओम अस्पतालले सामान्य बेडका लागि १ हजार रुपैयाँ तोकेको छ । आईसीयूमा भर्ना भएका बिरामीले ८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, २ हजारदेखि १० हजार रुपैयाँसम्म क्याबिन शुल्क तोकिएको समाचार राजधानीमा छ । 

    धुम्बाराहीस्थित ह्याम्स अस्पतालले सामान्य बेडका लागि २ हजार ५ सय रुपैयाँ लिने गरेको छ । आईसीयूका लागि ११ हजार ५ सय रुपैयाँ तोकेको छ । क्याबिन बेडका लागि ४ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

    टोखास्थित ग्र्यान्डी अस्पतालले सामान्य बेड शीर्षकमा ३ हजार ६ सय रुपैयाँ लिँदै आएको छ । आईसीयूका लागि १४ हजार ७ सय रुपैयाँ र क्याबिनअन्तर्गत सिंगलको १० हजार ७ सय र डबलको ६ हजार ६५० निर्धारण गरेको छ ।


    अस्पताल शैया दस्तुर

    वीर अस्पताल ३,००० सम्म

    त्रिवि शिक्षण अस्पताल २५० देखि १५००

    राष्ट्रिय ट्रमा सेन्टर २५० देखि ३०००

    शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र २०० देखि ५०००

    ओम अस्पताल १००० देखि १००००

    ह्याम्स अस्पताल २५०० देखि २५०००

    सिभिल अस्पताल २०० देखि २०००

    मेडिकेयर अस्पताल ९५० देखि ८०००

    मेडिसिटी अस्पताल ३२५० देखि २१५००

    कीर्तिपुर अस्पताल ८६० देखि ४०००

    ग्र्यान्डी अस्पताल ३६०० देखि १४००

    सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण नहुँदा अस्पतालले मनोमानी शुल्क असुल्दै आएका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकामा निजीस्तरमा सञ्चालन हुने स्वास्थ्य संस्थाले लिने सेवा शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा सेवा शुल्क निर्धारण समिति गठन हुने व्यवस्था छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार जिल्ला अस्पताल र सो सरहका ७३ अस्पताल, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र सोसरहका १५ अस्पताल, केन्द्रीयस्तरका १४ अस्पताल, १४ मेडिकल कलेज, सात मिसन अस्पताल, निजी सामुदायिक र सहकारी ४१५ समेत ५३८ अस्पताल सञ्चालनमा छन् । यस्तै, ती अस्पतालमा ३० हजार २८७ शैया रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले निजी तथा सरकारी अस्पतालले मनपरी शुल्क लिन नमिल्ने बताए । उनले भने, ‘सेवाको न्यूनतम शूल्क त तोक्नुपर्छ । त्यसको तयारीमा छौं । ’ अस्पतालको अनुगमनका लागि भनेर मात्रै छुट्टै महाशाखा खोल्ने तयारी भइरहेको उनले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast