मंगलवार, श्रावन ७, २०७६
    राज्य-समाज

    बाढीले बाँध भत्कियो, केही दिन अझै भारी वर्षा हुने

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर
    सप्तरी, २७ असार ।
     
    बिहीबारदेखि लगातार परेको वर्षाले खाँडो खोलामा बाढी आउँदा तिलाठी कोइलाडी गाउँपालिका–१ मा बनाइएको बाँध दुई ठाउँमा भत्किएको छ ।
     
    तिलाठीका गाउँ बस्ती जोगाउन बनाइएको बाँध दुई ठाउँमा पाँच÷पाँच फिट भत्किएर बाढी बस्तीमा पसेको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले बताउनुभयो । बस्तीमा पानी पसेर पाँच घर डुबानमा परेका छन् । दिउँसो वर्षा रोकिएपछि पानीको बहाब कम भई बस्तीमा पसेको पानी समेत कम भएको स्थानीय खोजेन्द्र मिश्रले जानकारी दिनुभयो ।
     
    कटान भएको बाँध मर्मत सम्भारका लागि गाउँपालिकाले ३०० बोरा र दुई वटा जाली उपलब्ध गराएको स्थानीय राजेश झाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरी कटान भएको बाँधको मर्मत सम्भारमा जुटेकाले अहिले खतरामुक्त रहेको उहाँले बताउनुभयो ।
     
    यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वटा वडा जलमग्न भएका छन् । राजविराज नगरपालिकाको वडा नं. १, ९ र १० का साथै विभिन्न गाउँ जलमग्न भएका छन् । असार मसान्तमा बाटो मर्मतका लागि माटो राखिएकाले वर्षापछि सिरहा सडक, कुनौली सडक र कञ्चनरुप सडक हिलाम्मे भएर आवतजावतमा कठिनाइ भएको स्थानीय घनश्याम झाले बताउनुभयो ।
     
    वर्षा शुरु भएकाले सम्भावित बाढीबाट जोगिन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गर्नुभएको छ ।
     
     
    केही दिन अझै भारी वर्षा हुने
     
    न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । 
     
    “आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।  विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ । खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहेने बताइएको छ । 
     
    बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ । खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ । 
     
    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast