मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    सप्तकोसीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका २२ वटा ढोका खुला

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २७ असार । 
    पहाडी भेगमा लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार र साँझ सात बजे एक लाख ६४ हजार १५० क्युसेक मापन गरिएको छ । शुक्रबार बिहानसम्म दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोसी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खुला गरिएको कोसी नियन्त्रण शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोसीको बाढीका कारण हालसम्म कुनै खतरा र क्षति नभएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको बहाव अझै बढ्दै गए सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । 

    १९६२ सालमा निर्माण भएको कोसी ब्यारेजमा निर्माणताका १२ लाख क्युसेक पानीको बहाव क्षमता थियो । तर बालुवा र ग्रेगर जम्मा भएका कारण अहिले एक लाख ५० हजार क्युसेक पानीको बहाव पुुगे खतराको संकेतस्वरूप पुलको दुवैतर्फ रातो झन्डा र रातो बत्ती बालेर खतराको संकेत गर्ने गरिएको छ । 

    सप्तरीका विभिन्न ठाउँमा डुबानको खतरा
    कोसी नदीको पश्चिमतर्फको तटबन्धमा भारतीय पक्षले बनाएको पाइलट च्यानलका कारण सप्तरीवासी चिन्तित छन् । च्यानलका कारण बाढी पश्चिमतर्फ केन्द्रित हुने र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका कतिपय स्थान डुबानमा पर्ने खतरा छ ।

    गत १० जेठ साँझ च्यानलमा एक्कासी पानी छोड्दा नेपालतर्फको हनुमाननगर कंकालिनी नगरपालिकाको गोेवरगाढाका एक सय २० परिवारलाई नेपालतर्फको भूभागमा आवतजावत गर्न समस्या भएको थियो । १२ भदौ ०७५ मा च्यानलमा पानी छोड्दा सप्तकोसी नदीको पानी गाउँ पसेपछि हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचवटा वडाका चार सय ९३ र तिलाठी–कोइलाडी गाउँपालिकाका दुईटा वडाका ३५ घरपरिवार प्रभावित भएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast