शनिबार, कार्तिक ३०, २०७६
    पर्यटन समाचार

    तानसेनका होटल तथा रेष्टुरेण्ट स्तरीकरण

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर
    (सांकेतिक तस्बिर)

    पाल्पा, २६ असार

    खाद्य स्वच्छताका आधारमा तानसेनका होटल तथा रेष्टुरेण्ट स्तरीकरण गरिएको छ ।

    प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय खाद्य स्वच्छता समूह पाल्पाले तानसेनका होटलमा प्रतीक चिह्नसमेत वितरण गरेको छ । तानसेनका २६ होटल मध्यम, चार उत्तम, नौ सन्तोषजनक र ६ सामान्यमा होटल स्तरीकरण गरिएको छ ।  

    उत्तममा नीलो कार्डमा दुई वटा तारा, सन्तोषजनकमा नीलो कार्डमा एउटा तारा, सामान्य पहेँलो लोगो होटलमा टाँसिएको हो । तानसेनका १९  होटल मात्र स्तरीकरण गरिएको प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । 

    तानसेनका सात होटल खाद्य स्वच्छताको मापदण्डबाहिर रहेको भेटिएको छ । पाल्पाका अधिकांश होटलको स्वच्छताका आधारमा निकै कमजोर रहेको देखिएको हो । स्तरीकरणमा परेका होटललाई लोगो र प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रमाणपत्र प्रदान गरेको श्रेष्ठले बताउनुभयो ।

    तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले असल होटल व्यवसायीहरुले ताजा र गुणस्तरीय खाजा नास्ता खुवाउनुपर्ने बताउनुभयो । तानसेनका होटल व्यवसाय अझै राम्रो बनाउन आवश्यक रहेको उपप्रमुख पाठकले बताउनुभयो । 

    पर्यटकीय क्षेत्र रहेको तानसेनमा होटल व्यवसायको राम्रो सम्भावना रहेकाले व्यवस्थित बनाउन तानसेन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । होटल व्यवसायी जीवलाल सुवेदीले होटलहरुलाई व्यवस्थित गरिने बताउनुभयो ।

    प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा तानसेनका होटलहरुमा पटक पटक अनुगमन गरिएको थियो । सोही अनुगमनका आधारमा तानसेनका होटलको स्तरीकरण गरिएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast