आईतवार, श्रावन ५, २०७६
    राज्य-समाज

    भारतमा भवन भासिँदा नेपाली पनि परे, एकै परिवारका तीनको मृत्यु

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २६ असार । 

    भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ। मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। 

    घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन्। उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन्।

    बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले अन्नपूर्णलाई बताए।

    मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्।

    तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। कमलका अनुसार खड्काका बाबुआमा घटनाबारे थाहा पाएलगत्तै अचेत छन्। उनीहरू पनि रोजगारीका क्रममा बैंगलोरमै थिए। मृतकका बाबुआमा पनि भत्किएको भवननजिकै अर्को भवनमा काम गर्थे।

    रोजगारीका क्रममा बैंगलोरमै रहेका मृतकका काका रामबहादुर खड्काले नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा अर्को चारतले भवनलाई धक्का दिएको र उक्त भवनको भुइँतला भासिएको जानकारी दिएको समाचार अन्नपूर्ण पोस्टमा छ । 

    काका रामबहादुरले आफूहरूको पूरै परिवार रोजगारीका लागि बैंगलोरमै रहेकाले मृतकको अन्तिम संस्कार उतै गर्ने बताए।

    ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन्। घटनामा ७ जना घाइते भएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast