सोमबार, भाद्र २, २०७६
    अावास-निर्माण

    झापा सदरमुकामका सबै खोलामा तटबन्ध

    बुधबार, २५ आषाढ २०७६, चन्द्रकला भण्डारी.
    भद्रपुर, २५ असार
     
    वर्षेनी बाढीको चपेटामा पर्दै आएको झापाको सदरमुकाम भद्रपुरलाई सुरक्षित बनाउन स्थानीय सबै नदीमा पाँच करोडभन्दा बढी लगानी गरेर तटबन्ध निर्माण गरिएको छ । 
     
    शिवसताक्षीस्थित जनताको तटबन्ध कार्यक्रमको १ नं फिल्ड कार्यालयले सदरमुकामका तीन वटा नदी मेची, निन्दा र देउनियामा चालु आर्थिक वर्ष २०७५÷७६ मा उक्त तटबन्धन बनाएको हो ।
     
    सदरमुकाम नै बाढीको जोखिममा परेको हुँदा उच्च जोखिम भएका नौ स्थान छानेर रु पाँच करोड ५० लाखको लागतमा व्यवस्थित तटबन्ध सम्पन्न गरिएको कार्यालयका प्रमुख मेखनाथ शर्माले बताउनुभयो ।
     
     तटबन्ध गरिएको एउटा स्थान भद्रपुर–३ भाङबारीस्थित मेची नदी पारिको नेपाली भूभाग पर्दछ ।सो तटबन्ध अनुगमन गर्न तटबन्धन कार्यालयका प्रमुख मेखनाथ शर्मा र भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठसँगै एक टोली मङ्गलबार भाङबारी पुगेको थियो । “बाढीका कारण भद्रपुरवासीले विगतमा जस्तो विस्थापित हुनुपर्ने अवस्था अब आउँदैन”, जनताको तटबन्ध कार्यालयका प्रमुख शर्मा भन्नुहुन्छ ।
     
     भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठले नगरवासी भएर पनि वर्षातको समयमा वर्षेनी घर छाडेर सुरक्षित स्थान खोज्दै हिँड्नुपर्ने पीडाबाट मुक्ति मिलेको बताउँदै बाढीको थप जोखिममा रहेका अरु स्थानमा आगामी आर्थिक वर्षभित्र तटबन्ध गरिसक्ने जानकारी दिनुभयो ।
     
    भद्रपुर वडा नं– ३ का अध्यक्ष कमला थुलुङले बर्खाका बेला एउटा गाउँबाट अर्को गाउँमा पुग्न नाउ (डुङ्गा) प्रयोग गर्नुपर्ने बाध्यता तटबन्धले हटाइदिएकोमा आदिवासी गाउँमा खुशीयाली छाएको बताउनुभयो । 
     
    भारतसँग सीमा जोडिएको सदरमुकाम भद्रपुरको पूर्वी तटमा मेची नदी छ भने मध्यभागमा निन्दा र पश्चिमी भागमा देउनिया खोला रहेको छ । ती सबै नदीमा तटबन्ध गरिएपछि अब बाढीको त्रास हटेको छ ।
     
    मेची नदीको बाढी पस्ने भद्रपुर–५ स्थित देवीबस्तीमा रु ६४ लाखको लागतमा १४५ मिटर, शान्तिटोलमा रु ६४ लाखको लागतमा १५६ मिटर, वडा नं– ३ को भचकबस्तीमा रु ६४ लाखको लागतमा ४ वटा ‘स्परर’, वैशाबारीमा रु २० लाखको लागतमा ७५ मिटर तटबन्ध गरिएको कार्यालयका इञ्जिनीयर रुपचन्द्र  अधिकारीले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार भद्रपुरको विश्रान्तिघाटमा रु ६३ लाखको लागतमा २१० मिटर र भद्रपुर–९ को निन्दा खोलामा रु ५२ लाखको लागतमा १७५ मिटरको तटबन्धन गरिएको छ । 
     
    कार्यालयले भद्रपुरको गैरीगाउँस्थित देउनिया खोलामा रु ६१ लाखको लागतमा  ५२० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको तटबन्ध निर्माण गरेपछि स्थानीय बासिन्दा यसपालिदेखि बर्खा याममा ढुक्कले आफ्नै घरमा बस्न पाउनेमा ढुक्क भएका छन् । 
     
    गैरीगाउँका १९ परिवारले विगत दशकौंदेखि वर्षाको समयमा बाढीबाट विस्थापित भएर नजिकैको सिंहदेवी आधारभूत विद्यालयको चिसो भूइँमा दुई महीना बिताउँदै आएका थिए । दाताले दिएको चिउरा र मुरै खाएर कैयन दिनरात बिताएको क्षण सम्झिदै स्थानीय धनेन्द्र लिङ्देन भन्नुहुुन्छ, “सेना र पुलिसले नाउ ल्याएर हाम्रो उद्धार गर्थे र स्कुल पु¥याइदिन्थे ।”
     
    तटबन्ध बनेपछि भद्रपुर–३ स्थित भाङवारीका १५० परिवारको खुशीको सीमा छैन । स्थानीय हावालाल राजवंशीले मेची नदीबाट वर्षेनी बाढीको भङ्गालो पस्नाले यहाँका बासिन्दा वर्षामा यसअघि ढुक्कले निदाउन पाउँदैन थिए ।
     
    “पानी पर्न थालेपछि घरमा चुलो बल्दैन थियो”, भद्रपुर–२ का ६५ वर्षीय चक्रप्रसाद खवासले विगतको दुःख सम्झिदै भन्नुभयो “बाढी आउँदा ज्यान जोगाउन मध्यरातमा घर छाडेर भागनु पथ्र्यो, बल्ल चैनले बस्न पाइने भएको छ ।”
     
    गत पुुसमा तटबन्धनको काम शुरु भएर असार १५ गते सबै काम सकिएको भद्रपुर–३ स्थित उपभोक्ता समितिका अध्यक्ष अनय राजवंशी बताउनुहुन्छ । मेचीपारिको गाउँ भनेर चिनिएको भाङबारी उपभोक्ता समितिका अध्यक्ष राजवंशी भन्नहुुन्छ,“आफ्नै रेखदेखमा दह्रोसँग ३५० मिटर लामो तटबन्ध बनाएका छौं, अब गाउँ सुरक्षित भयो ।” सो तटबन्धमा रु ६० लाख खर्च भएको उहाँको भनाइ थियो । 
     
    सदरमुकाम बचाउ अभियान अन्तर्गत आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत रु चार करोड २५ लाख बजेट विनियोजन भइसकेको तटबन्धन कार्यालयका प्रमुख मेखनाथ शर्माले बताउनुभयो । 
     
    झापाको ठूला नदी कनकाई, रतुवा, कमल, विरिङ, निन्दा, मेचीलगायतका नदीमा जनताको तटबन्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा रु ४६ करोड बजेट विनयोजन भएको थियो शर्माले जानकारी दिनुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast