मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट : भारत विश्वकपबाट बाहिरियो, न्यूजिल्याण्ड फाइनलमा प्रवेश

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २५ असार

    आईसीसी विश्वकप २०१९ को पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनले पराजित भइ भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

    न्यूजिल्याण्डले  दिएकाे २४० रनकाे लक्ष्य पछ्याएकाे भारत ४९ ओभर ३ बलमा २२१ रन बनाउँदै अलआउट भएकाे हाे । 

    भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ७७ रन बनाए । त्यस्तै महेन्द्रसिंह धाेनीले ५० रन बनाए पनि सुरुवाति तीन जना ब्याट्सम्यान भने एक-एक रनमा आउट भएका थिए ।

    यसअघि निर्धारित ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाएर २३९ रन बनायो । 

    वर्षाका कारण मंगलबार स्थगित भएको खेलमा न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरमा न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो । त्यही अवस्थाबाट सुरु भएको खेलमा न्यूजिल्याण्डले आज थप २८  रन जोड्न सफल भयो । 

    पहिलो दिन नटआउट रहेका रस टेलर र टम लाथम दुवैले व्यक्तिगत सात सात रन थपेर आउट भए । टेलर ७४ रनमा रन आउट हुँदा लाथमलाई १० रनमा भुवनेश्वर कुमारले पेभेलियन पठाए । १ रन बनाएर खेलिरहेका हेनरी निकलोसलाई पनि भुवनेश्वर कुमारले नै आउट गरे ।

    मंगलबार टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले सम्हाल्ने प्रयास गरेका थिए ।

    यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए । निकोलस २८ रन बनाएर आउट भएका थिए । कप्तान विलियमसनले अर्धशतकीय पारी खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन सकेनन् । विलियमसनले ६७ रन बनाउँदा ९५ बलको सामना गरेको थिए । 

    कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए । भारतका लागि भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजबेन्द्र चाहलले समान एक-एक विकेट लिए ।

    न्यूजिल्याण्डले अब फाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast