आईतवार, श्रावन ५, २०७६
    राज्य-समाज

    विषादीयुक्त सागसब्जी र फलफूल धमाधम भित्रिन थाले

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २५ असार । 

    तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।

    काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।
     

    सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए।
    प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो। यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रुपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका फलफूल र तरकारी बिर्तामोडस्थित कृषि थोकबजार हुँदै देशका विभिन्न सहरमा पुर्‍याइन्छन् भने विराटनगर भन्सारबाट भित्रिएको विराटनगरस्थित गुद्री बजारसहित विभिन्न स्थानमा पैठारी हुन्छ।

    संघीय सरकारले असार २ मा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारी सम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित ग‍रेको थियो। असार १० गतेदेखि प्रदेश १ का सीमा नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादीको मात्रा परीक्षण सुरु भएको थियो। लगत्तै विराटनगर र काँकडभिट्टास्थित मेची भन्सारमा तरकारी तथा फलफूल बोकेका ट्रकको लाइन लाग्न सुरु भएको थियो।

    प्रयोगशाला नाम मात्रैको

    प्रदेश १ को राजधानी विराटनगरमा सोमबारदेखि प्रदेश सरकारले विषादी मापन प्रयोगशाला सुरु गर्‍यो। जोगबनी नाका नजिकै प्रयोगशाला खुल्दा सबैलाई लागेको थियो : ‘संघीय सरकार पछि हटे पनि प्रदेश सरकारले अब विराटनगर भन्सारबाट आउने तरकारी र फलफूल परीक्षण गर्छ।’ तर, सो प्रयोगशालाले नेपाल भित्रिएर बजारमा बिक्री भइरहेका तरकारी र फलफूलको मात्रै नमुना संकलन गरी परीक्षण गर्ने भएको समाचार अन्नपूर्ण पोस्टमा छ । 

    हाल विषादी परीक्षण गर्न संघीय सरकारले नै रोकेकाले प्रदेश सरकारले पनि नाकामै ट्रक रोकेर विषादी परीक्षण नगने प्रदेश १ सरकारले जनाएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले संघीय सरकारले अनुमति दिए मात्र आयातीत तरकारी र फलफूल परीक्षण गर्ने बताए। ‘यो अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएको कुरा भएर यसमा संघीय सरकारले निर्णय गर्नेछ। अहिले हाम्रो प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलको नमुना संकलन गरेर परीक्षण गर्ने हो,’ उनले भने।

    प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा बजेट छुट्याएपछि विराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भइसकेको थियो। तर, जनशक्ति नहुँदा सञ्चालनमा आएको थिएन। विषादी मापनको चार्चा चलेकै समयमा सरकारले यसको सुरुवात गरेको हो। प्रदेश सरकारले काठमाडौंबाट कृषि मन्त्रालयका प्राविधिक बोलाएर उपकरण जोड्न लगाएर सोमबारदेखि परीक्षण थालेको थियो।

    बाली संरक्षण प्रयोगशालाका प्राविधिकलाई तालिम दिएर अहिले ‘क्लास थ्री’ का एक, प्राविधिक सहायक दुईसहित ६ जना जनशक्ति प्रयोगशालामा कार्यरत छन्। ‘संघीय सरकार आफ्नो निर्णयबाट पछि नहटेको भए प्रदेश १ का नाकामा यो प्रयोगशाला सञ्चालनमा आएसँगै ट्रकको लाइन लाग्ने थिएन। हामीले रातारात काम गरेर ल्याब सञ्चालनमा ल्याएका थियौं। अब यसमा आन्तरिक बजारकै तरकारी परीक्षण गर्नुपर्ने भयो,’ मन्त्रालयका सचिव हस्तबहादुर विष्टले भने।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast