मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट: भारतले न्युजिल्यान्डको सामना गर्दै, कोहलीविरुद्ध केन, यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २४ असार । 

    जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा मंगलबार भारतले न्युजिल्यान्डको सामना गर्दैछ। उक्त खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार दिउँसो ३ स्१५ बजे सुरु हुनेछ।

    यी दुवै टोलीले पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन्। यद्यपि, भारतले सन् १९८३ र सन् २०११ मा गरी दुई पटक विश्वकपको उपाधि जितिसकेको छ। यसदेखि बाहेक सन् २००३ मा पनि विश्वकपको फाइनलसम्म पुगेको थियो।

    न्युजिल्यान्डले भने हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन। न्युजिल्यान्ड एकपटक सन् २०१५ मा विश्वकपको फाइनलसम्म पुगेको थियो। त्यतिबेला न्युजिल्यान्डलाई फाइनलमा अस्ट्रेलियाले हराएको थियो। यो विश्वकपमा भने भारत र न्युजिल्यान्ड दुवै बलिया टोलीको रूपमा देखिएका छन्। लिग चरणमा भारत विजेता र न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

    लिग चरणमा भारत आफूले खेलेका नौमध्ये सात खेलमा विजयी भएको थियो। एक खेलमा भारतलाई आयोजक इङ्ल्यान्डले पराजित गरेको थियो। भारतको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। संयोगवश लिग चरणमा भारत र न्युजिल्यान्डबीचको खेल नै वर्षाका कारण रद्द भएको थियो।

    यसैगरी लिग चरणमा न्युजिल्यान्डले नौमध्ये पाँच खेलमा जित हात पारेको थियो। तीन खेलमा पराजित भएको न्युजिल्यान्डको एक खेल वर्षाका कारण रद्द भएको थियो। लिग चरणको नतिजा हेर्दा तुलनात्मक रूपमा न्युजिल्यान्डभन्दा भारत केही बलियो देखिन्छ। यो विश्वकपमा प्रारम्भदेखि नै भारतले एकैखालको प्रदर्शन गर्दै आएको छ। यसको विपरीत सुरुका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्ड पछिल्ला केही खेलमा भने सुस्त देखिएको छ।

    लिग चरणको अघिल्ला ६ खेलमा न्युजिल्यान्ड अपराजित रहेको थियो। पछिल्ला तीन खेलमा भने न्युजिल्यान्डको टोली पाकिस्तान, अस्ट्रेलिया र इङ्ल्यान्डसँग पराजित भएको थियो। हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुई टोलीबीच भएको भिडन्तमा पनि भारत नै बलियो देखिन्छ। यी दुई टोलीबीच हालसम्म एक सय ६ वटा एकदिवसीय खेल भएको छ। ५५ खेलमा भारत विजयी भएको छ भने ४५ खेलको नतिजालाई न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ। यी दुई टोलीबीचको एक खेल बराबरी र पाँच खेल अनिर्णित रूपमा सकिएको छ।

    यसैगरी विश्वकपमा यसअघि यी दुई टोलीबीच खेलिएको खेलमा भने न्युजिल्यान्ड केही बलियो देखिन्छ। यसअघिको विश्वकपमा यी दुई टोलीबीच कुल आठ खेल भएको छ। आठमध्ये चार खेलमा न्युजिल्यान्ड र तीन खेलमा भारत विजयी भएका छन्। एक खेल भने अनिर्णित रूपमा सकिएको छ।

    सन् १९७५ र सन् १९७९ को विश्वकपमा न्युजिल्यान्डले भारतलाई हराएको थियो। सन् १९८७ को विश्वकपमा खेलिएको दुबै खेलमा भारतले न्युजिल्यान्डलाई पराजित गरेको थियो। सन् १९९२ र सन् १९९९ को विश्वकपमा न्युजिल्यान्ड विजयी भएको थियो भने सन् २००३ को विश्वकपमा भारतले जित हात पारेको थियो। विश्वकपको नकआउट चरणमा भने यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका समाचार अन्नपूर्ण पोस्टमा छ । 
    जारी विश्वकपमा भारतको ब्याटिङ र बलिङ दुबै लयमा छ। खासगरी ओपनर ब्याट्सम्यान रोहित शर्मा आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्। उनले लिग चरणमा पाँच शतक र एक अर्धशतक प्रहार गरिसकेका छन्। उनी एउटै विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमानी खेलाडी पनि बनेका छन्। उनले कुल ६ सय ४७ रन बनाइसकेका छन्।

    यसैगरी कप्तान विराट कोहली पनि लयमा देखिन्छन्। उनले लिग चरणमा पाँचवटा अर्धशतक बनाइसकेका छन्। तीव्रगतिका बलर जसप्रित बुमराहको धारिलो बलिङ पनि भारतको अचुक हतियार बन्दै आएको छ। बुमराहले लिग चरणको आठ पालीमा १७ विकेट लिइसकेका छन्।

    अर्कोतिर, न्युजिल्यान्डका कप्तान केन विलियम्सनको ब्याटिङ पनि उत्कृष्ट छ। उनले लिग चरणको आठ पालीमा ९६.२० को औसतले कुल चार सय ८१ रन बनाइसकेका छन्। उनले लिग चरणमा दुई शतक र एक अर्धशतक प्रहार गरेका छन्। किविज टोलीका तीव्रगतिका बलर लोकी फर्गुसन पनि लयमा छन्। उनले लिग चरणको सात पालीमा १७ विकेट लिइसकेका छन्। तीव्रगतिका अर्का बलर ट्रेन्ट बल्टले पनि आठ पालीमा लिग चरणको आठ पालीमा १५ विकेट लिइसकेका छन्।

    आजको खेल

     भारतविरुद्ध न्युजिल्यान्ड

    ओल्ड ट्राफोर्ड (दिउँसो ३ :१५ बजे)

    एकदिवसीयमा दुई टोली

    कुल  : १०६ खेल

    भारत विजयी  : ५५ खेल

    न्युजिल्यान्ड विजयी  : ४५ खेल

    बराबरी  : १ खेल

    अनिर्णित  : ५ खेल

    विश्वकपमा दुई टोली

    कुल  : ८ खेल

    न्युजिल्यान्ड विजयी  : ४ खेल

    भारत विजयी  : ३ खेल

    अनिर्णित  : १ खेल

    प्रभाव पार्न सक्ने खेलाडी 

    जसप्रित बुमराह (भारत)
    भारतीय टोलीका तीव्रगतिका बलर हुन्, जसप्रित बुमराह। २५ वर्षीय बुमराह जारी विश्वकपमा लयमा देखिएका छन्। उनले लिग चरणको आठ पालीमा १७ विकेट लिइसकेका छन्। दायाँहाते बलर बुमराहले बंगलादेशविरुद्धको खेलमा चार विकेट लिएका थिए। उनले अस्ट्रेलिया र श्रीलंकाविरुद्ध पनि तीन/तीन विकेट लिएका थिए। यसैगरी दक्षिण अफ्रिका, अफगानिस्तान र वेस्ट इन्डिजविरुद्ध दुई/दुई विकेट हात पारेका थिए।

    अर्को एक विकेट भने उनले इङ्ल्यान्डविरुद्ध लिएका थिए। बुमराहले भारतका लागि हालसम्म ५७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एक सय दुई विकेट लिइसकेका छन्। एकदिवसीयमा उनको उत्कृष्ट प्रदर्शन २७ रन दिएर पाँच विकेट हो।

    एकदिवसीयमा उनले पाँचपटक चार विकेट पनि लिएका छन्। मंगलबार खेलिने न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा पनि बुमराहको धारिलो बलिङ भारतका लागि महवपूर्ण बन्न सक्छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast