आईतवार, भाद्र ८, २०७६
    यातायात

    दुई रेल किन्न ८५ करोड भारत पठाइयो, कहिलेदेखि चल्छ नेपालमा रेल ?

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २४ असार । 

    नेपाल सरकारले दुईवटा रेल खरिदका लागि भारत सरकारलाई ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) खरिद प्रक्रियाअनुसार सरकारले डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेलका लागि तोकिएको पूरै रकम निकासा गरेको हो । ‘अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ निकासा गरिसकेको थियो, बाँकी ३५ करोड ६५ लाख ९५ हजार रुपैयाँ पनि निकासा गरेको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने ।

    जिटुजी वार्ताबाट एउटा डेमु रेलको मूल्य ४२ करोड ३२ लाख ९७ हजार ८ सय रुपैयाँ तय भएको थियो । डिजेलबाट सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेल डेमु हो । यसअघि ४ चैत ०७५ मा मन्त्रिपरिषद्ले भारतीय सरकारी कम्पनी कोनकन रेल्वेज कपोरेसन लिमिटेडमार्फत दुई सेट डेमु रेल ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ (कररहित) मूल्यमा जिटुजी प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिने निर्णय गरेको थियो । 

     रेल आउन कम्तीमा ४ महिना लाग्ने
    नेपालले खरिद गर्न लागेको रेल भारतीय सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरिरहेको छ । मद्रासमा रहेको सो कम्पनीले रेल तयार गरी नेपाललाई बुझाउन अझै चार महिना लाग्नेछ । दुई देशबीच रेल खरिद सम्झौता भएको ३ महिनाभित्र नेपालले रेल पाउने भनिए पनि भारतमा भएको चुनाव र अन्य कारणले रेल निर्माणको काम प्रभावित भएको रेल विभागका अधिकारीहरूको भनाइ छ । नेपाल–भारतबीच २७ वैशाखमा रेल खरिद सम्झौता भएको थियो ।

    कहिलेदेखि चल्छ नेपालमा रेल ?
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरूले वैशाखदेखि नै रेल सञ्चालनमा आउने दाबी गरेका थिए । तर, खरिद गरिएका रेल नेपाल आउने समय विलम्ब हुँदै गएका कारण रेल आउने निश्चित भएपछि मात्र रेल सञ्चालनबारे बोल्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेल आउने मिति निश्चित होस्, त्यसपछि सञ्चालन सुरु हुने मिति तोकौँला’ उनले भने । यसअघि विभागका अधिकारीले दशैँ (असोज) सम्ममा रेल सञ्चालमा ल्याउने बताएका थिए । 

    पहिलो चरणमा जयनगरदेखि कुर्तासम्म सञ्चालन
    पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्तासम्म रेल सञ्चालन गर्ने योजना छ । जयनगरदेखि कुर्तासम्मको दूरी ३५ किलोमिटर छ । त्यसबीचमा ६ वटा रेल्वे स्टेसन रहनेछन् । कुर्तादेखि १७ किलोमिटरको यो रेलमार्गमा काम भइरहेको छ । त्यसपछि दोस्रो चरणअन्तर्गत बिजलपुरदेखि बर्दिबाससम्मको १७ किलोमिटर थप रेलमार्ग निर्माण गरी सञ्चालनमा ल्याइनेछ । डेमु रेल छोटो दूरीमा रोक्दै चलाउनका लागि उपयुक्त हुन्छ । यसका साथै रेलको गति प्रतिघन्टा १ सय किलोमिटरको हुनेछ । रेलले एकपटकमा १ हजार ३ सय जनासम्म यात्रु बोक्न सक्नेछ । कुर्तादेखि बिजलपुरसम्म पनि पहिलो चरणअन्तर्गत नै रेल सञ्चालनमा ल्याउने तयारी रहेको समाचार नयाँ पत्रिकामा छ 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast