मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    मेसीलाई रेफ्रीले मैदानबाट निकाले पनि कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो

    आईतवार, २२ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २२ असार ।
    चिलीलाई १४ वर्षपछि हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको तेस्रो बन्न सफल भएको छ । आइतबार बिहान भएको निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेसी पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

    ३७औं मिनेटमा मेसी र मेडल दुबैले रातो कार्ड पाए । मेसीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो ।

    पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टीमार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो ।

    कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे प्रतिस्पर्धा हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast