सोमबार, भाद्र २, २०७६
    कृषि-उर्जा

    मनसुन सक्रिय नहुँदा रोपाइँमा समस्या, आकाशको पानीको पर्खाइमा किसान

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर
    धनगढी, २० असार 
     
    वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो । 
     
    असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको छ । 
     
    यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकासे पानीको पर्खाइमा बस्नुभएका अर्का किसान महेश कुँवर रासायनिक मल डिएपीको समेत अभाव हुँदा खेतीको काम कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । 
     
    क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका प्रमुख गोविन्द शर्मा १०\१५ दिन अझै खडेरीको अवस्था रहेमा यस वर्षको बर्खे धान बाली उत्पादनमा ह्रास आउने बताउनुहुन्छ । उहाँका अनुसार हालसम्म पहाडी जिल्लामा ४५ देखि ५० प्रतिशत र कैलाली र कञ्चपुरमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ । 
     
    प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिताकुमारी चौधरीले रासायनिक मल आपूर्तिको कार्य क्षेत्र सङ्घीय सरकारको रहेकाले मल आपूर्ति गर्न निरन्तर समन्वय भइरहेको राससलाई बताउनुभयो । 
     
    सरकारी अनुदानको मल बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङ कर्पोरेशन लिको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast