सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    पर्यटकीय लेक घुम्टेमा ऐतिहासिक सिद्ध र भैरव मन्दिरको पुनः निर्माण

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर

    बागलुङ, २० असार 

    पर्यटकीय लेक घुम्टेमा अवस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण गरिएको छ । दुई महीनामा मन्दिर पुनःनिर्माण सकिएको उपभोक्ता समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो ।

    पुनःनिर्मित मन्दिरमा बिहीबार सिद्ध र भैरवको मूर्ति प्रतिस्थापन गरिएको छ । ऐतिहासिक महत्वको मन्दिर पुनःनिर्माणका लागि पर्यटन मन्त्रालयले रु २० लाख उपलब्ध गराएको थियो । सदियौँदेखि झुपडीमा रहेका मन्दिरलाई स्थानीयवासीले विसं २०५६ मा आधुनिक र कलात्मक तरिकाले पुनःनिर्माण गरेका थिए । 

    घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । द्वापरयुगमा पाँच पाण्डव घुम्टेमा वनबास जाँदा त्यहाँ तपस्यारत बालसिद्ध बाबाको दर्शन गरेका दिनदेखि त्यहाँ पूजाआजा हुन थालेको बताइन्छ । दुवै मन्दिर शिखर शैलीमा बनेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । “चट्टानयुक्त चुचुरोमा ठूला मन्दिर बनाउन सम्भव थिएन”, उहाँले भन्नुभयो, “साना दुईतले तर कलात्मक मन्दिर बनेका छन् ।”

    “चट्टानयुक्त चुचुरोमा ठूला मन्दिर बनाउन सम्भव थिएन”, “साना दुईतले तर कलात्मक मन्दिर बनेका छन् ।”

    मन्दिरको गारोमा स्थानीय ढुङ्गा र झ्यालढोकामा सालको काठ प्रयोग गरिएको छ । छानोसमेत ढुङ्गाले छाइएको छ । तीन हजार १२० मिटरको उचाइमा रहेको मन्दिर पुनःनिर्माणमा चाहिने बालुवा, ढुङ्गा, सिमेन्ट आदि खच्चरले बोकेका थिए । 

    सडक नपुगेका कारण सो स्थानमा निर्माण सामग्री पु¥याउनै हम्मे परेको थियो । तलैबाट अन्नपानी लगेर गएका मजदूर रातदिन नभनी पुनःनिर्माणमा खटिएका थिए । “भौगोलिक कारणले कठिन भए पनि समयमै पुनःनिर्माण सकियो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “ढुवानी र मजदूर खटाउँदा बढी खर्चिलो भयो ।” असारभित्रै सक्ने लक्ष्यका साथ समितिले कामलाई तीव्र पारेको थियो ।

    गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे धार्मिक र पर्यटकीय महत्व बोकेको स्थल हो । वर्षेनी वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । विगत सात वर्षदेखि नयाँ वर्षमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ ।

    गण्डकी प्रदेशको नयाँ पर्यटकीय गन्तव्य सूचीमा परेको घुम्टेको पर्यटन गुरुयोजनाको काम पनि अघि बढाइएको छ । यसअघि पर्यटन मन्त्रालयकै सहयोगमा पदमार्ग निर्माणलगायतका काम गरिएका थिए ।

    आगामी आर्थिक वर्षका लागि पनि पर्यटन मन्त्रालयबाटै रु २० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट पनि पूर्वाधार निर्माणमा खर्च गरिनेछ । यस स्थललाई सङ्घीय सरकारकै पर्यटन गन्तव्य सूचीमा पार्न पहल गरिनाका साथै ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग भइरहेको छ । 

    घुम्टेको घना जङ्गलमा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छन् । गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन ‘गुराँस उत्सव’ गर्ने गरिन्छ । विसं २०७० मा भएको मैत्रीपूर्ण पर्यटन भेलापछि यहाँ पर्यटकीय गतिविधि बढेका हुन् । केन्द्रसँग घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि छ । बागलुङ सदरमुकामदेखि तीन घण्टा मोटर र चार घण्टाको पदयात्रापछि घुम्टे पुगिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast