आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    हटेन हुवावेमाथि अमेरिकी प्रतिबन्ध, कम्प्युटर चिप्स मात्र बेच्न पाउने

    शुक्रबार, २० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २० असार 

    हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीचको वार्तापछि अमेरिकाले हुवावेमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको थियो । तर हुवावेमाथिको प्रतिबन्ध पूर्ण रुपमा नहटाइएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

    ह्वाइट हाउसका अनुसार हुवावेलाई अमेरिकामा उसको फाइभ जी वायरलेस नेटवर्कको विकास तथा बजारीकरणमा लगाइएको प्रतिबन्ध कायमै रहनेछ । यद्यपि कम्प्युटर चिप लगायतका स–सना उत्पादनहरु बेच्नका लागि भने हुवावेले अनुमति पाएको छ ।

    सिएनबिसी टिभीलाई दिएको अन्तरवार्ताका क्रममा ह्वाइट हाउसका व्यापारिक सल्लाहाकार पिटर नवारोले हुवावेलाई उसको फाइभ जी इन्टरनेट प्रविधिको अमेरिकामा बजारीकरण गर्नमा लगाइएको प्रतिबन्ध ट्रम्प प्रशासनले कायमै राख्नेछ ।

    हुवावेको फाइभ जी प्रविधिलाई चीन सरकारले जासूसीका लागि दुरुपयोग गर्नसक्ने आरोप लगाउँदै अमेरिकाले हुवावेमाथि यस्तो प्रतिबन्ध लगाएको थियो ।

    ह्वाइट हाउसका व्यापारिक सल्लाहाकार नवारोका अनुसार हुवावेप्रतिको अमेरिकी नीति यथास्थितिमा कायमै छ र भविष्यमा पनि बदलिने छैन । उनले भनेका छन्, ‘हामीले हुवावेलाई यहाँ केवल चिप बेच्ने अनुमति दिएका छौँ जुन उत्पादनले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर पार्ने छैनन् । एक वर्षमा एक अर्ब डलर भन्दा कम मूल्यका चिप बेच्ने अनुमति हुवावेलाई दिइएको छ ।’

    उनका अनुसार फाइभ जी प्रविधिको विकासको दौडमा अमेरिकालाई नै अग्रणी बनाउनका लागि राष्ट्रपति ट्रम्प प्रतिबद्ध छन् । यस प्रक्रियामा योगदान गर्नका लागि युरोपमा नोकिया तथा एरिक्सन जस्ता कम्पनीहरु सँग उनले सम्बन्ध विस्तार गर्दैछन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast