मंगलवार, कार्तिक ५, २०७६
    खेल संसार

    यू-१९ इस्टर्न रिजन क्रिकेट : नेपाललाई समूह विजेता बन्ने अवसर

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १९ असार 

    मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि (शुक्रबार) सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

    क्वालालम्पुरस्थित किनरारा ओभलमा शुक्रबार बिहान नेपालले सिंगापुरको सामना गर्नेछ । र, सिंगापुरविरुद्ध मैदान उत्रदा नेपाल समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

    पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ ।

    सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह 'ए' मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ । 

    हेड टु हेडमा को बलियो ?

    नेपाल र सिंगापुर हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ९ खेलमा जित हात पारेको छ । नेपाल र सिंगापुरबीचको १ खेल खराब मौसमका कारण नतिजाविहीन बनेको थियो ।

    सन् १९९९ को युथ एसिया कपमा पहिलो पटक नेपाल र सिंगापुरले प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले सिंगापुरलाई ७० रनमा रोक्न सफल भएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ५ ओभरको खेल खेल्दा २६ रनको स्थितिमा खेल पानीले अवरुद्ध गरेपछि दुवैले अंक बाडेका थिए ।

    सन् २००३ को युथ एसिया कपमा नेपालले सिंगापुरलाई १ सय ४३ रनले हराएको थियो । यस्तै, सन् २००५ को एसीसी यू-१९ कपको क्वाटरफाइनलमा १०० रनको अन्तरले पाखा लगाएको थियो ।

    सन् २००७ र २००९ को एसीसी यू-१९ एलिट कपमा नेपालले क्रमश ७ विकेट र ३ विकेटको जित निकालेको थियो ।

    सन् २०१७ को यू-१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक भेट भएको थियो । जसमा नेपालले ४ विकेट र २२ रनको जित निकालेको थियो ।

    अन्तिम पटक नेपाल र सिंगापुर २ महिना अघि यू-१९ विश्वकप छनोटमा आमने सामने भएका थिए । उक्त खेलमा नेपालले २ सय १७ रनको फराकिलो जित निकालेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast