आईतवार, श्रावन ५, २०७६
    ओएमजी Omg!

    खासमा यस्तो रहेछ ‘सिरिन्ज आक्रमण’को रहस्य

    बिहिवार, १९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १९ असार । 

    सीतापाइलाकी सीता महर्जन (नाम परिर्वन) स्कुटीमा धोबीघाटतर्फ जाँदै थिइन् । कलंकीमा एक महिलाले लिफ्ट मागिन् । स्कुटर रोकिन् । चढाएर गन्तव्यमा पुर्‍याइन् । खुसी हुँदै ती महिलाले महर्जनको कुममा धाप मारिन् । ‘थ्यांकस्’ भन्दै आफ्नो बाटो लागिन् । उनी जब कार्यालय पुगिन् तब, बाटोमा लिफ्ट लिएकी महिलाले धाप मारेको ठाउँमा अनायसै दुखेको महसुस गरिन् । सञ्चार माध्यम ‘सिरिन्ज आक्रमण’ ले रंगिएका थिए । अब उनलाई पनि लाग्न थाल्यो, ‘धाप मार्ने महिलाले सिरिन्ज आक्रमण त गरिनन् ?’ बेचैन ह्वात्तै बढ्यो । कुम दुखेको महसुस अझ ज्यादा भयो । आत्तिएकी उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगिन् । अहिले उनी एचआइभीको ‘एन्डी टोड’ लिइरहेकी छिन् । 

    नयाँ बानेश्वरकी विमला श्रेष्ठ (नाम परिवर्तन) एनएसी (नेपाल एयरलाइन्स कर्पोरेसन) अघिबाट टेम्पु चढिन् । उनीसँगै थिए एक अपरिचित युवक । टेम्पु गन्तव्यतर्फ बढ्दै थियो । चालकले अचानक ब्रेक दबाए । टेम्पुभित्रका यात्रु एकआपसमा ठोक्किन पुगे । गन्तव्यमा पुगेपछि विमला टेम्पुबाट झरिन् । सरासर घर लागिन् । केही बेरपछि टेम्पुमा युवा ठोक्किएको शरीरतर्फको भाग दुखेको महसुस गरिन् । उनलाई पनि लाग्न थाल्यो, ‘टेम्पुमा ठोक्किएका ती युवाले कतै सिरिन्ज आक्रमण त गरेन ?’ मनमा बेचैन बढ्यो । शरीर अझ दुखेझैँ भयो । हुर्रिंदै उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगिन् । अहिले उनी पनि एचआइभीको ‘एन्डी टोड’ लिइरहेकी छिन् । 

    कीर्तिपुरमा तीन दिनअघि मैया महर्जन (नाम परिवर्तन) बारीमा मकै गोड्दै थिइन् । मकैको पातले उनको पाखुरा पाछ्यो । काम सकेर बारीबाट उनी बाहिरिइन् । सडकमा हिँड्दै गर्दा एक युवा उनको पाखुरामा ठोक्किन आइपुगे । ठोक्किएको ठाउँमा दुखेको महसुस भयो । अब उनलाई पनि लाग्न थाल्यो, ‘ठोक्किने ती युवाले सिरिन्ज आक्रमण त गरेन ?’ उनी पनि टेकु अस्पताल गइन् र एचआइभीको ‘एन्टी टोड’ लिइन् । उपत्यकाको अपराध अनुसन्धान गर्ने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले वास्तविकभन्दा पनि मनमा कल्पित आक्रमणको त्रासबाट उपत्यकाका स्थानीय ज्यादा त्रसित बन्न पुगेको बताए । 

     सिरिन्ज आक्रमणका  १० उजुरी
    महाशाखाका अनुसार केही सातायता सिरिन्जभन्दा पनि सिरिन्जको मनोत्रासबाट संक्रमितहरूको उजुरी प्रहरीमा धेरै परेका छन् । १० भन्दा धेरै उजुरी आएको महाशाखाले जानकारी दिएको 
    समाचार नयाँ पत्रिकामा छ । 

    सिरिन्ज आक्रमण मनको बाघ 
     डा. शेरबहादुर पुनविशेषज्ञ सरुवा रोग, शुक्रराज ट्रपिकल अस्पताल
     सिरिन्ज आक्रमण भयो भन्दै दैनिक तीन–चारजना आउने गरेका छन् । अहिलेसम्म १० भन्दा धेरै यस्ता केस अस्पतालमा आएका छन् । आक्रमण भयो भन्दै आएपछि हामीले बिरामी हेर्नु कर्तव्य हो ।  केही छैन भनेर सम्झायो, पुनः ओल्टाई–पल्टाइ हेर्न लगाउँछन् । अचम्म–अचम्मका केस आएका छन् । सिरिन्ज आक्रमणभन्दा पनि मनमा पैदा भएको त्रास मात्र भेटियो । कतिलाई काउन्सिलिङ गरेर पठाएका छौँ । कतिलाई भने आवश्यकता हेरी सोहीअनुसारको औषधि पनि दिएका छौँ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast