बिहिवार, मंसिर १९, २०७६
    पर्यटन समाचार

    युनेस्कोको खतराको सूचीमा काठमाडौं, नेपाली टोली बैठकमा भाग लिन बाकु प्रस्थान

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १७ असार । 

    आइतबारदेखि अजरबैजानको बाकुमा सुरु भएको विश्व सम्पदा समितिको ४३ औं बैठकले काठमाडौं उपत्यकालाई  खतराको सूचीमा राख्ने बारेमा पनि छलफल गर्दैछ । 

    नेपाल सरकारले १ फेब्रुअरी २०१९ मा पठाएको उत्तरमा युनेस्कोका चासो सम्बोधन गर्न खोजिए पनि खतराको सूचीमा राख्ने कार्यसूची कायमै छ । 

    काठमाडौं उपत्यकाभित्र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रको कतिपय निर्माण कार्यमा मापदण्ड पूरा नभएको ठहर गरी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को) ले सरकारलाई खतराको सूचीमा पर्न सक्ने चेतावनी पटक पटक दिँदैआएको थियो । 

     

    खतराको सूचीमा पर्ने सम्भावना कति ?

    बैठक आइतबार सुरु भइसके पनि त्यसमा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा नेतृत्वको टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । 

    भूकम्पपछिको पुनर्निर्माणका क्रममा उपत्यकालाई बेवास्ता गरिएको भन्ने ठहर गरी काठमाडौंलाई खतराको सूचीमा राख्नेबारेमा अहिले छलफल हुन लागेको हो । कार्यक्रममा सहभागी हुने नेपाली अधिकारीहरुले राखेको तर्कमा चित्त बुझे काठमाडौं सो सूचीमा पर्ने छैन । 

    बैठकका सहभागी सरकारी तर्कसँग सहमत नभए काठमाडौं उपत्यकाका विश्वसम्पदा खतराको सूचीमा राखिनेछन् ।


    नेपाल खतराको सूचीमा ! 

    पहिला पनि यसखालका चेतावनी बारम्बार आउने गरेका थिए । चेतावनी मात्रै होइन सन् २००३ मा  नेपाल खतराको सूचीमा नै परेको थियो । 

    सहरीकरणका क्रममा सम्पदालाई नै बिगार्ने गरी निर्माण कार्य अघि बढाइँदा त्यतिबेला खतराको सूचीमा राखिएको थियो । पछि मापदण्ड पूरा हुन थालेपछि २००७को जुन २५ मा  नेपाललाई सो सूचीबाट हटाइएको थियो ।

     

    कुन-कुन देश जोखिममा !

    नेपालको काठमाडौं उपत्यकासहित  सुन्दर वन  (बंगलादेश), प्राचीन सहर नेस्सेबार(बुल्गेरिया), ओहरिड रिजन (अल्बानिया–नर्थ मेसेडोनिया), गल्फ अफ क्यालिफोर्निया (मेक्सिको) र बेबीलोन (इराक)लाई पनि खतराको सूचीमा राख्ने तयारी भइरहेको छ । 

    पहिला खतरामा रहेका जिससको जन्मस्थान चर्च अफ नाठिभिटी र बेथलेहेम (प्यालेस्टाइन क्षेत्र)लाई भने खतराको सूचीबाट हटाउने तयारी भइरहेको समितिको ४३ औं बैठकका लागि तयार पारिएका अभिलेखमा उल्लेख गरिएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast