शनिबार, कार्तिक ३०, २०७६
    यातायात

    साझा बसमा यात्रु कार्डमार्फत भाडा लिइने, यसरी प्रयोग गर्न सकिन्छ यात्रु कार्ड

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १७ असार । 

    साझा यातायातले युरो–४ मापदण्डका २० बस सञ्चालनमा ल्याएको छ । योसँगै साझा यातायातका बसको संख्या ७१ पुगेको छ । यसअघि साझाले युरो–३ मापदण्डका ५१ बस सञ्चालन गरेको थियो । ७१ मध्ये चारवटा बस बाग्लुङ र भैरहवासम्म चल्छन्, बाँकी बस उपत्यकामा सञ्चालन भइरहेका छन् । काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायात सहकारी संस्थाले संयुक्त कार्यक्रम आयोजना गरी बस सञ्चालनमा ल्याएका हुन् । थपिएका बसले सोमबारदेखि नै सेवा दिन थालेका छन् । साझाले काठमाडौं महानगरको पाँच करोड र ललितपुर महागनरको एक करोड रुपैयाँको सेयर लगानीबाट बस किनेको हो । थपिएका बस ४० सिट क्षमताका रहेको साझाले जनाएको छ । बसमा सिसी क्यामेरादेखि इन्टरनेटसम्मको सुविधा रहेका छन् । 

     के हो यात्रु कार्ड, कसरी प्रयोग गर्ने ?
    यो एक डेबिट कार्डजस्तै हो । दुई सय रुपैयाँ तिरेर कार्ड किन्न सकिन्छ । कार्डमार्फत दुई सय रुपैयाँबराबरकै भाडा तिर्न सकिन्छ । कार्डको मूल्य पर्दैन । बसको कन्डक्टरसँग कार्ड रिड गर्ने मेसिन हुन्छ । यात्रुले बस चढेपछि कन्डक्टरले कार्ड माग्छन् र ओर्लने स्थान सोध्नेछन् । यात्रुले आफू ओर्लने स्थान बताएपछि कन्डक्टरले कार्ड मेसिनमा घोट्छन् र भुक्तानी लिन्छन् । त्यो पैसा सीधै साझा यातायातको नेपाल बैंकमा रहेको खातामा जम्मा हुन्छ । 

    कार्डमा कुनै व्यक्तिगत जानकारी हुँदैन । र, यसमा डेबिट कार्डको जस्तो पासवर्डसमेत हुँदैन । फोनको रिचार्ज कार्डजस्तै एक व्यक्तिले किनेको कार्ड उसको अनुमतिमा अर्को व्यक्तिले प्रयोग गर्न सक्छन् । साझाले प्रयोगमा ल्याएको कार्ड एन क्लाउड नामक कम्पनीले डिजाइन गरेको हो । कार्ड प्रयोगका लागि साझाले नेपाल बैंकसँग सहकार्य गरेको छ । साझाले कार्डको पछाडि महिला हिंसाविरुद्ध सचेतना जगाउने किसिमका सामग्रीसमेत राखेको छ ।

    अहिले साझा यातायातका कन्डक्टरले नै कार्ड बेच्दै आएका छन् । साझाको पुल्चोकस्थित कार्यालयमा समेत कार्ड किन्न पाइन्छ । कार्डमा रहेको रकम सकिएपछि रिचार्ज गर्न मिल्छ । कार्डमा कन्डक्टरले भाडा संकलन गर्ने मेसिनबाट रिचार्ज गरिदिन्छन् । कार्ड किन्दा दुई सय रुपैयाँबराबरको रकम हुन्छ भने सो रकम सकिएपछि यात्रुले ५० देखि ५०० रुपैयाँसम्म रिचार्ज गर्न सक्छन् । ‘रिचार्ज गर्न पनि सजिलो छ । यसले यात्रुलाई पैसा बोक्नुपर्ने झन्झट हुँदैन,’ तुलाधर भन्छन्, ‘तोकिएको भाडा मात्र काट्छ, त्यसैले कम्पनी र यात्रु दुवैलाई फाइदासमेत छ ।’ काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन बनाएर उपत्यकाका सबै ठूला बसमा यात्रु कार्ड लागू गर्ने तयारीसमेत गरिरहेको छ । 

     बिजुली बस  किन्न ४५ करोड
    साझा यातायातले ४५ करोड लगानीमा विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने भएको छ । विद्युतीय बस किन्न प्रदेश–३ सरकारले ३० करोड, काठमाडौं महानगरले १० करोड, ललितपुर महानगरले दुई करोड ५० लाख सेयर लगानी गरेका छन् । साझा आफैँले दुई करोड ५० लाख रुपैयाँ सेयर लगानी गर्ने भएको छ । सोमबार आयोजित कार्यक्रममा विद्युतीय बस किन्न प्रदेश सरकार, काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायातबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सोही कार्यक्रममा प्रदेश सरकारले साझालाई ३० करोड रुपैयाँ हस्तान्तरणसमेत गरेको समाचार नयाँ पत्रिकामा छ । 

    ललितपुर महानगरले समेत दुई करोड ५० लाख रूपैयाँको चेक साझालाई हस्तान्तरण गरेको छ । ४५ करोडमा साझाले एक वर्षभित्र ३० विद्युतीय बस किनेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘एउटाको करिब डेढ करोड जति पर्न सक्छ । ३० वटा किन्न सकिने अनुमान छ । यही वर्षभित्र सञ्चालनमा ल्याउँछौँ,’ तुलाधरले भने । विद्युत् प्राधिकरणले बस सञ्चालनका लागि चार्जिङ स्टेसन बनाइदिने भएको छ । ‘प्राधिकरणले हामीले उपलब्ध गराएको ठाउँमा चार्जिङ स्टेसन बनाइदिने भएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले स्थान पहिचान गर्नेछौँ ।’

     यात्रा कार्ड लागू 

    साझाले भाडा उठाउन स्मार्ट यात्रा कार्ड लागू गरेको छ । चैत अन्तिम सातादेखि नै साझाले यात्रु कार्ड वितरण गरिरहेको छ । हालसम्म पाँच सय स्मार्ट कार्ड वितरण गरिसकेको साझाले जनाएको छ । टिकट वितरण गरेर भाडा संकलन गर्दा चुहावट भएको भन्दै साझाले स्मार्ट यात्रा कार्ड सञ्चालनमा ल्याएको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय रकम भुक्तानी (इ–पेमेन्ट) का लागि ‘यात्रु कार्ड’को शुभारम्भ गरेका छन् । कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गरे । ऐन गत २४ चैतमा स्वीकृत भएको थियो ।

    साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरका अनुसार अब थप पाँच सय कार्ड वितरण गरिने र त्यसलाई निरन्तरता दिने योजना छ । ‘हामी निरन्तर कार्ड वितरण गर्ने योजनामा छौँ । यात्रुले कार्डमार्फत र नगद दुवै तरिकाले भाडा तिर्न सक्नुहुन्छ,’ उनले भने, ‘तर, नगद भाडा उठाउने प्रणालीलाई हटाउने हाम्रो अभिप्राय हो ।’ आर्थिक वर्ष ०७४/७५ मा साझाले एक करोड ७८ लाख बढी घाटा व्यहोरेको थियो । कम्पनीलाई घाटामा जान नदिन कार्ड सिस्टम प्रभावकारी हुने भन्दै प्रयोगमा ल्याइएको साझाले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast